इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सेवाग्राही महिलाहरुलाई दुव्र्यवहार गरेको भन्दै आन्दोलित अधिकारकर्मी र उपमहानगरपालिकाबीच आज दोस्रो चरणको वार्ता भएको छ । आन्दोलनरत सुनसरी जिल्लाभरका १३ ओटा महिला अधिकारवादी संस्थाका प्रतिनिधि र उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमबीच नागरिक समाज तथा राजनीतिक दलका स्थानीय प्रतिनिधिसमेतको उपस्थितिमा वार्ता भएको हो । वार्तामा दुवै पक्षबीच मेयर चौधरी कोरोना संक्रमित भई अस्पतालमा उपचाररत रहेकाले उनी कार्यालयमा फर्केपछि थप वार्ता गर्नेगरी हाललाई अधिकारकर्मी पक्षले गरिरहेको आन्दोलन स्थगित गर्ने सहमति भएको वार्तामा सहभागी महिला सञ्जाल इटहरीकी सदस्य सुशीला उप्रेतिले जानकारी दिइन् । उनले सडक आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरिएको बताउँदै कानूनी उपचारको प्रकृया भने जारी नै रहेको प्रष्ट पारिन् ।
महिलामाथि दुव्र्यवहार गर्ने मेयर चौधरीविरुद्ध आजै जिल्ला सरकारी वकिल कार्यालय सुनसरीमा उजुरी दर्ता गराउने कार्यक्रम रहेकोमा वार्ता लामो समयसम्म चलेकाले समय अभावमा दर्ता गराउन नसकिएको भन्दै उनले सो कार्यालयमा भोलि उजुरी दर्ता गराउने जानकारी दिइन् । उपमहानगरपालिकाकी उपमेयर गौतमले मेयर चौधरी कार्यालयमा आएपछि दुवै पक्षबीच सार्थक छलफल गर्न आफूले गरेको आग्रह अधिकारकर्मीहरुले स्वीकार गरेकाले सोही सहमति गर्दै वार्ता सम्पन्न गरिएको जानकारी दिइन् । गत भदौ ३० गते दिउँसो ३ः३० बजे सिफारिसमा मेयरको तोक लगाउन लगाउनका लागि पुगेका इटहरी ४ घर भएकी सीता शेर्पा राई र उर्मिला भट्टराईलाई कार्यालयमा प्रवेश गर्नासाथ मेयर चौधरीले अश्लिल गालीगलौज गर्दै दुव्र्यवहार गर्नुका साथै दुवै महिला सेवाग्राहीलाई नगर प्रहरी लगाई धम्कीसमेत दिएको घटना सार्वजनिक भएपछि सोको भोलिपल्ट महिला सहयोगी समूह, प्रोत्साहन नेपाल, महिला पुनःस्थापना केन्द्र ९ओरेक०, जागृति महिला महासंघ लगायतका १२ ओटा महिला अधिकारवादी संघसंस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका थिए ।
साथै उनीहरुले महिलामाथि अपशब्द प्रयोग गर्ने व्यक्तिउपर सम्बन्धित निकायबाट कडा कारबाही हुनुपर्ने तथा मेयर चौधरीले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने लगायतका माग समेटिएको ज्ञापनपत्र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीलाई बुझाएका थिए । तर सो ज्ञापनपत्र मेयर चौधरीले नहेरेपछि अधिकारकर्मीले निरन्तर सडक आन्दोलन गर्दै आएका थिए ।