इटहरीः सहकारी संस्थाहरु पनि बैंकभन्दा कम छैनन् । सेवा दिने क्षेत्र सानो छ, आफ्ना सदस्यलाई मात्र सेवा दिन सक्छन् । तर कुनै कुनै बचत तथा ऋण सहकारीको इतिहास र उनीहरुले अहिले गरिरहेको कारोबार हेर्ने हो भने लाग्छ, उनीहरुले सानो आम्दानीमा खेल्ने सदस्यहरुको लागि राष्ट्र बंैकभन्दा ठूलो काम गरिरहेका छन् । छरिएर रहेको पूँजीलाई एकीकृत गरी आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उकास्नमा उद्दत सहकारीमा पर्छ इहटरी उपमहानगरपालिका वडा नम्बर ९ मा प्रधान कार्यालय रहेको दुर्गा बचत तथा ऋण सहकारी संस्था पनि ।

२०५७ साल माघ महिनामा स्थापना भएको दुर्गा बचत तथा ऋण सहकारीले आफ्नो स्थापनाको १९ औँ साधारणसभा भर्खरै सम्पन्न गरेको रहेछ । सुनसरी जिल्लाभर बचत तथा ऋण सहकारी संस्थाको मान्यता अनुरुप काम गर्न सक्ने अनुमति पाएको यस संस्थाले धरानमा एउटा सेवा केन्द्र सञ्चालन गरेको रहेछ । सो क्षेत्रका आफ्ना सदस्यलाई सेवा दिन धरानमै उपसमिति बनेको रहेछ । स्थापनाको १८ वर्षे दौडानमा आफ्ना सदस्यका बीच र आफ्नो कार्यक्षेत्रमा पनि राम्रो छाप छोड्न सफल यो सहकारीमा अहिले २ हजार ३ सय ८० जना सदस्यहरु रहेछन् । त्यसमा १ हजार २ सय ६४ जना महिला र बाँकी पुरुष शेयर सदस्य छन् । आफ्नो स्थापनाको १८ वर्षमा दुर्गाले इटहरीको आइतबारेमा दुर्गा पार्टी प्यालेस पनि खोलेको छ । पार्टी प्यालेसबाट दुर्गाले आफ्नो नामसँगै नयाँ छापसमेत छोड्न सफल भएको देखिन्छ । 

1509125_426427927486635_1887755181_n (1)

कुनै बेला राम्रो छाप छोड्न नसकेको दुर्गा बचत तथा ऋण सहकारी संस्थाका स्थापना कालदेखिका एक खम्बा रहेछन् कुमार निरौला जो अहिले यस सहकारीका व्यवस्थापक छन् । “इटहरीमा जतिबेला हिमालय फाइनान्समा घेराबन्दी भएको थियो, त्यतिबेला मान्छेहरुमा सहकारी प्रतिको विश्वास कम हुदै गइरहेको थियो । हो, त्यसैबेला समाजका लब्धप्रतिष्ठित व्यत्तिहरुले दुर्गा बचत तथा ऋण सहकारी चल्नुपर्छ । दुर्गा बचत तथा ऋण सहकारी माथि जानुपर्छ भन्ने भनाइ राख्दै हौसला र उर्जा दिने स्वर्गीय तिर्थराज गौतम, राजेश श्रेष्ठजस्ता व्यक्तित्वलाई अझै पनि हामी सम्झिरहन्छौँ ।” संस्थाका व्यवस्थापक निरौला भन्दै थिए । हुन पनि नियामक निकाय कमजोर हुँदा र सहकारीको फेसन चल्दा निकै सर्वसाधारणको सानो सानो लगानी डुब्ने गरेको छ । कुनै कुनै सहकारी चलाउँछौँ भन्नेहरुले सर्वसाधारणको भावनामा खेलेर पैसा बटुल्ने र बिनाधितो सस्तो लोकप्रियताका लागि ऋण लगानी गरेर संस्थालाई डुबाउने गरेको तितो यथार्थ हामीसामु विद्यमान छ । दुर्गा बचतका व्यवस्थापक निरौला यस प्रकारको प्रवृतिका विरोधी पनि हुन् । सदस्यको बचतलाई जोगाउन सहकारीले बिनाधितो जथाभावी लगानी गर्न नहुने भनाइ निरौलाको छ ।

शेयर सदस्यको सुविधामा ध्यान दिएकै कारण दुर्गा बचतले अहिले पछाडि फर्केर हेर्नुपरेको रहेनछ । दुर्गा साकोसले गत आर्थिक वर्षमा मात्र दुई करोड करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको रहेछ । सहकारीको नियम अनुसार सबै सहकारी संस्थाहरुले नाफाको केही रकम जगेडा कोषमा राख्नुपर्ने रहेछ । यस वर्ष दुर्गाले ६३ लाख ५८ हजार रुपैयाँ जगेडा कोषमा राखेको छ भने एक करोड ५ लाख ८० हजार १२ रुपैयाँ आफ्ना सदस्यलाई नगद लाभांश दिएको रहेछ । त्यसो त यस वर्ष सहकारीले भदौ महिनाको ३० गतेदेखि असोज महिनाको ३ गतेसम्म विभिन्न ठाउँमा गएर शेयर सदस्यको भौतिक उपस्थितिमै आफ्नो साधारणसभा गरेको छ । शेयर सदस्यलाई खुसी बनाउन होस्, या त संस्थालाई राम्रो लयमा डोर्याइरहन संस्थाको सञ्चालक र व्यवस्थापन दुवै पक्षको महत्वपूर्ण भूमिका हुन्छ । दुर्गा बचतले भने आफ्ना कर्मचारीलाई आफ्नो मुनाफाबाट बोनससमेत दिन सफल भएको रहेछ भने शेयर सदस्यहरुको लागि भने शेयर सदस्यको मृत्यु भएमा निजको हकवालालाई उक्त शेयर सदस्यको शेयरको दोब्बर रकम उपदानमा दिने रहेछ । त्यति मात्र नभएर महिला सदस्य सुत्केरी भएमा २ पटकसम्म सुत्केरी खर्चस्वरुप ५ हजार ५ सय रुपैयाँका दरले प्रदान गर्ने रहेछ । ७५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकहरुलाई वार्षिक एक पटक खाजा खर्चबापत ३ हजार रुपैयाँ उपलव्ध गराउने गरेको संस्थाका व्यवस्थापक निरौलाले हामीलाई बताए ।

सहकारीहरु जोडिएर झनै बलियो बनेर सशक्त ढङ्गले अगाडि बढ्नुपर्ने धारण राख्ने व्यवस्थापक निरौला सहकारी संस्थाले क्षमताको विकास गरी सदस्यको पूँजीको सुरक्षा गर्नुपर्नेमा जोड दिन्छन् । दुर्गाले पनि मोरङ्ग जिल्लामा रहेको अनुपम बचत तथा ऋण सहकारी संस्थालाई आफ्नोमा मर्ज गर्ने हेतुले एकीकरणको पहल गरिरहेको निरौलाले हामीलाई बताए । एकीकरण र कार्यक्षेत्र विस्तारको लागि प्रदेश सहकारीमा कुरा गरिसकेको कुमार बताउँछन् । सहकारी संस्थाबाट ऋण सुविधा पाउनको लागि सदस्य बनेको ९० दिन भएको हुनुपर्ने कानून छ । त्यही प्रावधानका कारण सहकारीमा ऋण लिन आउने आफ्ना सदस्यहरु आफ्नै सहकारीबाट ऋण नपाएर साहुकोमा जानुपर्ने र चर्को ब्याजमा ऋण लिनुपर्ने बाध्यतामा पर्ने निरौला सुनाउँछन् । त्यो झन्झटिलो कानूनी व्यवस्थालाई परिमार्जन गर्न सहकारी संस्था र यससम्बद्ध अभियानकर्मीहरुको ध्यान जानुपर्ने हामीले देख्यौँ । मोबाइल बैंकिङ्गसँगै दुर्गा एपसमेत चलाइरहेको दुर्गा साकोसले संस्थालाई अझै प्रविधियुक्त बनाउन लागिरहेको व्यवस्थापक निरौलाको भनाइ छ । नेपालमा सहकारी शिक्षाको कमी छ । भनेको बेला अनुभवी कर्मचारी पाइँदैन । अब सहकारीसम्बन्धी शिक्षालाई विश्वविद्यालयमा नै पढाइनुपर्ने सहकारी अभियान्ताहरुको आवाज रहेको छ । त्यसका साथै सहकारी संस्थाहरु नगदको कारोबार गर्ने संस्था भएको हुनाले केही न केही राष्ट्र बैंकले नै यिनीहरुको नियामनको जिम्मा लिएदेखि सर्वसाधारणको धनको सुरक्षा हुने पक्का हुन्छ ।