इटहरीः उकालोपछि ओरालो र फेरि उकालो लागेको शेयर बजार परिसूचक नेप्से आइतबार पनि गिरेको छ ।

३२०० विन्दुमा पुगेर करेक्सनको यात्रा तय गरेको शेयर बजारलाई गिराउन बजारमा बढेको ब्याजदर, मौद्रिक नीतिका साथै केही ठूला लगानीकर्ताको हात रहेको बताइन्छ । करेक्सनपछि गत हप्ताको अन्तिममा मात्र बढेको बजारमा नाफा बुक गर्ने ट्रेडरहरु हावी भएपछि बजार फेरि केही घटेको विश्लेषण गरिएको छ । आइतबारको कारोबारबाट परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा अडिएको छ । यो दिन नेपाली शेयर बजारमा ६ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । मौद्रिक नीति सार्वजनिक भएपछि झर्न थालेको बजार २६१४ अंक आसपासमा आएर फेरि तेज गतिमै फर्किएको थियो । यसरी बढेको बजारबाट अल्पकालीन कारोबारीले नाफा गरेका छन भने दीर्घकालीन लगानीकर्ताको पोर्टफोलियो घटेको छ ।

छोटो समयमा बजारमा भारी गिरावाट आउँदा सर्वसाधारण लगानीकर्ता निराशामा छन् । झनै भर्खरै बजारमा प्रवेश गरेकाहरुलाइ नकारात्मक असर परेको छ भने आत्मबल पनि घटेको छ । आइतबार मनोकामना स्मार्ट लघुवित्तको भाउ सर्किट लाग्नेगरी वृद्धि भएको छ भने अन्य कम्पनीको कारोबार भने सामान्य नै रहेको छ । कारोबार रकमका आधारमा ३३ करोड ९५ लाख रुपैयाँभन्दा बढीसहित अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा फरवार्ड माइक्रोफाइनान्स संस्थापक शेयर र तेस्रोमा नेपाल बैंक लिमिटेड परेका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका समूहगत परिसूचक पनि घटेका छन् । फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा बढी घटेका छन् ।