इटहरीः मोरङको विराटनगरस्थित १ नम्बर प्रदेशको प्रादेशिक उच्च अदालतअगाडि एक युवकमाथि छुरा प्रहार भएको छ ।

छुरा प्रहारमा पर्नेमा ३२ वर्षीय युवा व्यवसायी कलामसिंह लामा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार खुकुरी प्रहारबाट घाइते भएका व्यवसायी लामाको विराटनगरकै विराटनगर अस्पतालमा उपचार भइरहेको छ । पेट, हात लगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था सामान्य रहेको एसपी राईले उल्लेख गरे । काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आफूले दुई वषृअघि लगानी गरेको मोरङकै कटहरी गाउँपालिका ६ स्थित इटा उद्योगको निरीक्षणका लागि आज बिहान मात्र विराटनगर आएकोमा उनीमाथि दुई जना युवाहरुको समूहले आक्रमण गरेको हो ।

व्यवसायी लामाको काठमाडौँमा सहकारीमा पनि लगानी रहेको प्रहरीको भनाइ छ । मोरङको नोचाका मोहम्मद साजितको सो इटा उद्योगमा साजितकी श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर किनेर साजितसँग व्यावसायिक साझेदारी गरिरहेका लामाले सो उद्योग आफ्ना साझेदार साजितसँग ५ वर्षका लागि लिजमा लिएको र सोबापत साजितलाई ५० हजार थान इटा दिने सर्त रहेको प्रहरी अनुसन्धानले देखाएको छ । तर साजित भने लामाबाट उद्योगको स्वामित्व पूर्ण रुपमा आफ्नै हातमा लिने योजनासहित विभिन्न षड्यन्त्रमा लागेको प्रहरीको भनाइ छ । यसै विवादका बीच लामामाथि विराटनगरमा आक्रमण भएपछि प्रहरीले घटनामा साजितकै संलग्नता हुनसक्ने आशंका गरेको छ । घटनापछि साजित सम्पर्कविहीनसमेत भएका छन् । लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्कीलाई भने कोसी अस्पताल नजिकैबाट प्रहरीले पक्राउ गरेको छ । अर्का अभियुक्तको खोजी तथा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।