इटहरीः सतारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भएका जिल्लामा हिजो अर्थात् असोज ९ गते पालिका अधिवेशन (गाउँ÷नगर÷उपमहानगर÷महानगर) सम्पन्न भएको छ ।
कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ । तर, विवादका कारण १० जिल्ला कम अर्थात् ५४ जिल्लामा मात्र शनिबार पालिका अधिवेशन सम्पन्न भयो । कुल १२ स्थानीय तह रहेको सुनसरीमा पनि शनिबार १० वटा स्थानीय तहको मात्र अधिवेशन सम्पन्न भयो । क्रियाशील सदस्यको विवादको कारण जिल्लाको दुहवी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा अधिवेशन हुन सकेन । दुईमध्ये दुहवीमा आइतबार अधिवेशन हुने भए पनि भोक्राहा नरसिंह गाउँपालिकाको अधिवेशन अझै अन्योलमा छ । १० स्थानीय तहमध्ये आधा अर्थात् पाँच स्थानीय तहको सभापति पदमा पुरानै अनुहार दोहोरिएका छन् । इटहरी उपमहानगरसहित जिल्लाका पाँच पालिकाको सभापति पदमा निवर्तमानले नै जितेका हुन् । इटहरीमा हेमकर्ण पौडेलले नै आफ्नो कार्याकाल दोहोर्याएका छन् । नयाँ अनुहार मात्रै होइन, नयाँ प्रकृतिको नेतृत्व गर्ने शंखघोष गरेका विकास केसी पराजित भएका छन् । यस्तै रामधुनी नगरपालिकामा पनि सुदीप अधिकारी नै सभापति भएका छन् । उनले सगेन चौधरीलाई पराजित गर्दै सभापति बनेका हुन् ।
यसअघि १३ औँ महाधिवेशनबाट पनि अधिकारी नै सभापतिमा निर्वाचित भएका थिए । यता, सुनसरीको जिल्ला सदरमुकाम नगरपालिका इनरुवा नगरपालिकामा राजन मेहताले नै कार्यकाल दोहोर्याएका छन् । उनले योगेन्द्र मेहतालाई पराजित गर्दै सभापति पद जितेका हुन् । इनरुवा नगरपालिकाका नगर–प्रमुखसमेत रहेका मेहता १३ औँ महाधिवेशनमा पनि नगर सभापति भएका थिए । कोशी गाउँपालिकाले पनि नयाँ सभापति पाउन सकेन । १३ औँ महाधिवेशनबाट पनि सभापति पदमा चयन भएका सुलेमान मन्सुरी नै यो पटक पनि सभापतिमा चयन भएका छन् । उनले नारायण बरहखेरलाई पराजित गरेका हुन् । यसैगरी, जिल्लाको बर्जु गाउँपालिकामा पनि निवर्तमान सभापति नै सभापतिमा दोहोरिएका छन् । यस गाउँपालिकामा पुनः कृष्ण संग्रौला नै निर्वाचित भएका हुन् । उनी निर्विरोधसमेत बनेका छन् । जिल्लाका तीन स्थानीय तहमा भने कांग्रेसले नयाँ सभापति पाएको छ ।
धरान उपमहानगरपालिकासँगै जिल्लाका अन्य दुई पालिकामा नयाँ सभापति चयन भएका हुन् । धरान उपमहानगरपालिकामा श्याम पोखरेल सभापतिमा चयन भएका छन् । उनले किशोर राईलाई पराजित गर्दै सभापति पद आफ्नो पोल्टामा पारेका हुन् । यसअघि धरानमा तिलक राई सभापति थिए । अहिले उनी धरान उपमहानगरपालिकाका नगर–प्रमुख छन् । बराहक्षेत्र नगरपालिकामा भने निवर्तमान सभापति नारायण नेपाललाई पराजित गर्दै रमेश कार्की निर्वाचित भएका छन् । यस्तै, देवानगञ्ज गाउँपालिकाले पनि नयाँ सभापति पाएको छ । देवानगञ्जमा जगधर यादव सभापतिमा निर्वाचित भएका हुन् । उनले सुरेन्द्र यादवलाई पराजित गर्दै सभापतिको स्थान पाएका हुन् । देवानगञ्जमा १३ औँ महाधिवेशनबाट सुरेन्द्र यादव सभापति भएका छन् ।
बाँकी तीन पालिकामा भने निर्विरोध पदाधिकारी चयन भएका छन् । जिल्लाको हरिनगरा गाउँपालिका, बर्जु गाउँपालिका र गढी गाउँपालिकामा निर्विरोध निर्वाचित भएका हुन् । हरिनगरा गाउँपालिकामा नुनु अन्सारी सभापतिमा चयन भएका छन् । यसअघि शिवहरि श्रेष्ठ यहाँको सभापति थिए । यस्तै, बर्जु गाउँपालिकामा कृष्ण संग्रौला निर्विरोध बने । यसअघि पनि संग्रौला नै गाउँपालिकाको सभापति थिए । यसैगरी, गढी गाउँपालिकामा पनि निर्विरोध रुपमा पालिका कमिट निर्माण भएको हो । गढीमा कमल चौधरी सभापतिमा चयन भएका हुन् । १३ औँ महाधिवेशनमा अरुण चौधरी गढीको सभापति भएका थिए ।