काठमाडौँः सरकारले राष्ट्रिय जनगणना(२०७८ मा यसपटक अनुवंशीय रक्तस्राव (हेमोफिलिया) भएका व्यक्तिको पनि गणना गर्ने भएको छ ।
जनगणनामा अपाङ्गता भएकाको सूचीमा १० औं नम्बरमा हेमोफिलिया भएका व्यक्तिको गणना गर्ने सूची रहेको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा हेमोफिलिया सोसाइटी, नेपालका महासचिव विकल्प न्यौपानेले हेमोफिलिया भएका व्यक्ति धेरै भएकाले कोही पनि नछुट्ने तरिकाले गणना गर्न आग्रह गरे । उनले गणक आउँदा घरपरिवारमा भएका हेमोफिलिया भएका व्यक्तिको विवरण स्पष्ट दिनसमेत सबैलाई आग्रह गरे । सोसाइटीले हेमोफिलियाको वास्तविक तथ्याङ्क समेटिनुपर्ने माग गरेको थियो । कार्यक्रममा हेमाफिलिया विशेषज्ञ डा विशेष पौडेलले नेपालमा करिब तीन हजार ५०० हजारको सङ्ख्यामा हेमाफिलियाका भएका व्यक्ति भएको अनुमान गरिए तापनि अहिलेसम्म करिब ७५० जना मात्रको पहिचान गरिएको बताए । नेपालमा कान्ति बाल अस्पताल र वीर अस्पतालमा हेमोफिलियाका भएका बिरामीको उपचार गरिन्छ ।
हेमोफिलिया मानवरक्त तत्वमा कुनै एउटा तत्वको कमी भएर सिर्जना हुने अवस्था हो । हेमोफिलियाका कारणले घाउ, ठक्कर र चोटका कारणले मात्र नभई आफ से आफ आन्तरिक रक्तस्राव भइरहने र अत्यधिक पीडा हुने गर्छ । त्यस्तै, पटक–पटकको रक्तस्रावका कारण जोर्नी वा मांसपेशीहरू सुन्निने र रक्तस्राव कारण जोर्नीहरू बिग्रने, जोर्नीहरू बिग्रिएपछि नजिकका मांसपेशीहरू सुक्दै जाने र अन्ततः गम्भीर अपाङ्ता हुन्छ । वीर अस्पतालका डा निरजकुमार सिंहले बिरामीको खोजी गरी उपचार गर्नुपर्ने बताए। बर्सेनि २०० बिरामी थपिने गरेको उनको भनाइ छ । उनले जनगणनाका वास्तविक हेमोफिलियाका रोगीको पहिचान गर्नुपर्ने बताए । -रासस