इटहरीः मोरङको विराटनगर महानगरपालिका–१४ जतुवाबाट प्रहरीले १७ किलो अवैध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँकी २५ वर्षीया आरतिदेवी यादव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक प्रकाश राउतको टोली विशेष सूचनाका आधारमा खटी यादवको घरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । घरमै गाँजाको कारोबार हुने गरेको पाइएपछि प्रहरीले कारोबारमा परिवारका अन्य सदस्यको पनि संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको एसपी राईले उल्लेख गरे ।
नेपाली बजारमा गाँजा प्रतिकिलो २० हजार रुपैयाँमा कारोबार हुने गरेको बताउँदै उनले भारतमा पठाउँदा दोब्बर मूल्य पाइने लोभमा भारततर्फ तस्करी गर्ने क्रम बढेको बताए । गाँँजाको अवैध कारोबार बढेपछि यसको नियन्त्रणका लागि सीमा नाकामा सतर्कता अपनाउनुका साथै विशेष अभियान सञ्चालन गरिएको प्रहरीको भनाइ छ ।