इटहरीः सरकारले माग सम्बोधन नगरेसम्म संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गतिरोध जारी राख्ने पूर्वउपसभामुख एवम् एमाले नेतृ शिवमाया तुम्बाहाम्फेले बताएकी छन् ।
शनिबार सुनसरीको झुम्कामा अखिल नेपाल महिला संघ सुनसरीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले सो कुरा बताएकी हुन् । उनले सभामुखले एक पार्टीलाई काखा र अर्कोलाई पाखा गरेर भेदभाव गरेको आरोपसमेत लगाइन् । यस्तै, नेकपा एमाले छोडेका १४ जना प्रतिनिधिसभा सदस्यलाई पार्टीले कारबाही गरेको व्यहोरा सभामुखले संसद बैठकमा प्रस्तुत नगरेकोमा पनि पार्टीले बैठक अवरुद्ध गरेको उनको भनाइ छ । पार्टीले कारबाही गरेको १४ जनाको विषयको निवेदन संसद सचिवालयमा पेस गरिएकै समयमा संसद विघटन भएकाले त्यो सचिवालयको सूचना पाटीमा टाँस्नुपर्ने व्यवस्था भएपनि सभामुख अग्निप्रसाद सापकोटाले व्यवस्थाको मर्म र भावनाविपरीत काम गरेको उनको भनाइ छ ।
साथै अहिले सभामुखको हैसियत न्यायाधीशको जस्तै भएको समेत उनको आरोप छ । ‘संघीय संसदका जो १४ जना सांसदको कारबाहीको निवेदन हामीले संघीय संसदमा पेस गरेपछि सभामुखले एउटा न्यायाधीशको जस्तो भूमिका निर्वाह गरेर अब मैले यो निवेदनमाथि केही गर्नु नपर्ने भन्ने खालको कुरा गरेपछि हामीले यसको विरोध गरेका हौँ’, उनले भनिन्, ‘प्रतिनिधिसभाको सभामुख न्यायाधीश होइन । सभामुखले त्यहाँ भित्रका प्रक्रियालाई अघि बढाउने काम मात्र गर्नुपर्छ ।’ प्रतिनिधिसभाको बैठक हुनुपूर्व सभामुखबाट हुने दलीय भेदभाव र कारबाही गरेका प्रतिनिधिसभाका सदस्यका विषयमा सरकारले कारबाही गरे मात्र सहज रुपमा संसद सञ्चालन गर्ने बातावरण आफूहरुले सिर्जना गर्ने उनको भनाइ छ ।
सभामुख निष्पक्ष नभएसम्म संसदबाट हुने काम पार्टीवादी हुने भएकाले जनताको आवाज कुण्ठित बनाएको नभएर जनताको सही आवाजको सम्बोधन होस् भन्नकै लागि संसद बैठक अवरुद्ध गरेको उनको तर्क छ । ‘प्रतिनिधिसभाभित्र सभामुखले दलमाथि गरेको विभेदका विषयमा हामीले संसद अवरुद्ध गर्यौँ’, उनले भनिन्, ‘अर्को कुरा १४ जना सांसदलाई हामीले कारबाही गरेका थियौँ । ती १४ जना सांसदको कारबाहीको विषयमा सूचना टाँस गर्नुपर्यो । यी दुई वटा कुरा पूरा नभएसम्म संसद बैठक अवरुद्ध गर्छौँ ।’