इटहरीः सुनसरीको इटहरी ३ स्थित सुनौलो बस्ति (ख) मा छुरा प्रहारबाट एकजनाको मृत्यु भएको छ ।
स्थानीय ५८ वर्षीय देवीप्रसाद अधिकारीको छुरा प्रहारबाट सोही स्थान बस्ने वर्ष २२ का राजु थापाको मृत्यु भएको हो । छुरा प्रहार गर्ने अधिकारी र मृत्यु हुने थापा छिमेकी हुन । दिउँसो भएको सामान्य विवादको विषयलाई लिएर अधिकारी र थापाबीच भएको विवादको क्रममा अधिकारीले छुरा प्रहार गरेको इटहरी ३ नं वडाध्यक्ष बालकृष्ण बिष्टले जानकारी दिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बिष्टले बताए ।
थापाको मृत्यु भएपश्चात् आक्रोशित स्थानीय र आफन्तले अधिकारीको घरमा आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीका अनुसार छुरा प्रहार गर्ने अधिकारीलाई नियन्त्रणमा लिइएको छ । ‘सामान्य घरायसी विवादमा छुरा प्रहार भएको हो, छुरा प्रहार गर्ने व्यक्ति पनि घाइते भएको अवस्था छ’ उनले भने । घटना दिउँसो ३ः४० मा भएको प्रहरीले जनाएको छ ।