इटहरीः चितवनको इच्छाकामना गाउँपालिकामा गएराति त्रिशूली नदीमा कार खस्दा कारमा सवार तीन जना बेपत्ता भएका छन् ।

गएराति ११ः४५ बजे इच्छाकामना गाउँपालिका ५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार अनियन्त्रित भई त्रिशूलीमा खस्दा बेपत्ता हुनेहरुमा कार चालक कास्की पोखरा १७ वस्ने प्रेमबहादुर भुजेल, सोही ठाउँकै लेखबहादुर भुजेल र ईश्वरी भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको अवस्था हालसम्म अज्ञात रहेको बताउँदै प्रहरीले खोजीकार्य तिव्र पारिएको जानकारी दिएको छ ।

सोही दुर्घटनामा परी एक जना घाइते भएका छन् । घाइते हुनेमा पोखराका रुद्रलाल सुवेदी रहेको जनाउँदै प्रहरीले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उनको उपचार जारी रहेको प्रष्ट पारेको छ ।