इटहरीः इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले चार वर्षमा इटहरीले पूर्वाधार निर्माणमा उल्लेख्य फड्को मारेको बताएका छन् ।

कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उनले पुस सम्ममा इटहरीका प्राय सबै मुल बाटोहरु पिच भइसक्ने बताए । प्रमुख चोैधरीले चार वर्षमा सय किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिए । यो आर्थिक वर्षमा थप सय किलोमिटर सडक कालोपत्रे हुनेगरी धमाधम काम भइरहेको बताए । उनले चार वर्षमा चालिस किलोमिटर भित्री बाटोहरुमा ब्लक ओछयाउने काम भएको र यो वर्ष थप १० किलोमिटर भित्री बाटोहरुमा ब्लक ओछ्याई सकिने बताए । उनका अनुसार केही दिनभित्रै पाँच करोड लगानीमा बन्ने हुलाकी सडक अन्तर्गतको पुल शिलान्यास हुनेछ ।

1632207306971

 

इटहरीमा चार वर्षमा ८१ वटा साना पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भइसकेका छन् । चार वटा ठूला पुल निर्माण प्रकृया सुरु भएको छ । उनले इटहरीमा चाँडै नै एक अर्ब ३७ करोडको विश्व बैंकको परियोजना सञ्चालन हुन लागेको जानकारी दिए । त्यसका लागि सम्झौता भइसकेको छ । आठ वटा वडा कार्यालय भवन निर्माण हुँदैछन् । केही महिना भित्रैमा इटहरीका सबै वडाबाटै स्थानीयले आधारभूत स्वास्थ्य सेवा पाउनेछन् । १४ वटा स्वास्थ्य एकाई भवन निर्माण सम्पन्न गरेर केही महिनामै स्वास्थ्य सेवा सुरु गरिनेछ ।

त्यसका लागि आवश्यक जनशक्ति, फर्निचर, औषधि लगायतको ब्यवस्था भइसकेको प्रमुख चौधरीले जानकारी दिए । उनका अनुसार इटहरी अस्पतालको ३ तले २३ कोठे भवन निर्माण भइरहेको छ । इमन्रजेन्सी ब्लकसमेत बन्दैछ । अहिले इटहरी अस्पतालमा एमडीजीपीसहित ५४ जनाले सेवा प्रदान गरिरहेका छन् ।