इटहरीः १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले चाडपर्वलाई लक्षित गरी ल्याएको दुर्घटना न्यूनीकरण तथा चाडपर्वलक्षित सुरक्षा योजना सुरु भएको छ ।

गत असोज १ गतेदेखि प्रदेशका १४ वटै जिल्लामा लागु हुनेगरी ट्राफिक प्रहरीले सुरक्षा योजना लागु गरेको हो । ट्राफिक प्रहरीले नियमित चेकिङसँगै केही नयाँ चेकिङ पनि थप गरेका छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी नायबउपरीक्षक (डिएसपी) सुमनकुमार तिम्सिनाका अनुसार रात्रिकालीन चेकिङ दसैँलाई लक्षित गरेर ल्याइएको छ । नेपालीहरुका महान चाड दसैँ, तिहार, छैठ र ल्होसार लगायतका पर्व नजिकिएसँगै सुरक्षा व्यवस्था कडा गर्न विशेष सुरक्षा योजना ल्याइएको उनले जानकारी दिएका छन् । रात्रिकालीन चेकिङमा असोज १ गतेयता ४ दिनमा ९ सय २८ वटा सवारीसाधन कारबाहीमा परेका हुन् ।

itahari_chook

 

१४ जिल्लाको २ सय ९२ ठाउँमा ६ हजार ८ सय ३५ वटा सवारीसाधन चेकिङ गर्दा ९ सय २८ वटा सवारीसाधन कारबाहीमा परेको उनले जानकारी दिएका छन् । सवारी कारबाहीबाट ट्राफिक प्रहरीले ५ लाख ६४ हजार राजश्व संकलन गरेको उनले जानकारी दिए । चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले चेकिङलाई विशेष प्रथामिकताका साथ अगाडि बढाएको उनले जानकारी दिएका छन् । यसका साथै कोरोना महामारीसँगै बन्द भएको टाइम कार्ड चेकिङलाई पनि विशेष रुपमा अगाडि बढाइएको उनले जानकार दिए । रडार गन चेकिङ, आर.एस.सी.सी. चेकिङलाई पनि ट्राफिक प्रहरीले विशेष रुपमा अगाडि बढाएको उनले जानकारी दिए । यस्तै, सुगम शहर र राजमार्गकेन्द्रित चेकिङ भएको आरोप खेप्दै आएको ट्राफिक प्रहरीले यो वर्ष भित्री सडकमा पनि चेकिङ गर्न थालेको उनले जानकारी दिए ।

सामान्य समयमा भन्दा यो समयमा सम्पूर्ण युनिटलाई चुस्तदुरुस्त पारिएको उनले जानकारी दिएका छन् । ‘हाम्रो शहरी क्षेत्रमा दैनिक ३४ स्थानमा चेकिङ हुन्छ । त्यस्तै, राजमार्ग क्षेत्रमा दैनिक १ सय २८ स्थानमा चेकिङ हुँदै आएको छ’, उनले भने, ‘ग्रामीण सडकलाई पनि अहिले हामीले फोकस गरेको अवस्था छ । किनभने ग्रामीण सडकमा अहिले दुर्घटना बढिरहेको छ । त्यस्ता सडकमा हामीले प्रदेशको ३६ ठाउँमा चेकिङ गर्दैै आएका छौँ ।’ ट्राफिकले योसँगै जनचेतनामूलक क्रियाकलाप र कारबाहीलाई पनि अगाडि बढाइरहेको उनले जानकारी दिए ।