इटहरीः ७ औँ संविधान दिवसको अवसरमा इटहरी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सामग्री वितरण गरेको छ ।

दिवसको उपलक्ष्यमा आज एक कार्यक्रमको आयोगजना गरी उपमहानगरले शारीरिक अपाङ्गता भएका नगरवासीलाई सहयोगी सामग्री हस्तान्तरण गरेको जानकारी दिएको छ । उप–प्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ह्विल चियर लगायतका सामग्री वितरण गरिएको हो । गत आर्थिक वर्षमा नै उपमहानगरका सम्पूर्ण वडाका अपाङ्गता भएकाहरुको पहिचान गरी उनीहरुको आवश्यकतासमेत केलाइएको उप प्रमुख गौतमले जानकारी दिइन् ।

१० दिन लगाएर नगरका सबै वडामा गएर अपाङ्गता भएकाहरुको पहिचान गरिएको उनको भनाइ छ । यसले अपाङ्गता भएकाहरुको जीवनयापनमा थोरै भए पनि सहयोग मिल्ने उनको विश्वास रहेको छ । यस्तै, दिवसकै अवसरमा उपमहानगरले इटहरीको मुख्य चौकमा झण्डोतोलनसमेत गरेको छ । उपमहानगरले हरेक वर्ष मुख्य चौकमा झण्डोतोलन गर्ने गरेको छ ।