इटहरीः प्रदेश १ मुख्यमन्त्री भीम आचार्यले संविधानको मर्म र भावनालाई आत्मसात गदैं मन, वचन र कर्मले प्रदेश १ को श्रीवृद्धिका लागि योगदान गर्न प्रदेशवासीलाई आह्वान गरेका छन् ।

संविधानको पूर्ण कार्यान्वयन, प्रदेशको समृद्धि र सुखी नागरिकको अपेक्षासहित संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को शुभकामना सन्देश जारी गदैं उनले यस्तो आव्हान गरेका हुन् । नेपाली जनताको लामो संघर्ष र बलिदानपछि ६ वर्षअघि आजकै दिन संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको थियो । उनले संविधान दिवस अर्थात् राष्ट्रिय दिवसको यस पुनित अवसरमा देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाइ एंव शुभकामना व्यक्त गरेका छन् । ‘जनताको अथक योगदान, अधिकारको खातिर गरिएको बलिदानीले जनताकै प्रतिनीधिहरुमार्फत् धर्म निरपेक्षता, समावेसी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता सहितको संविधान हामीले पाएका छौं ।’–आइतबार जारी सन्देशमा भनिएको छ –‘यही संविधानले सामन्ति, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ ।’ 

लामो समयदेखिको राजनीतिक द्वन्द्व समाप्त गदैं राष्ट्रिय एकता, शान्त, समुन्नत र समृद्ध नेपाल बनाउनुपर्ने दायित्व नेपालीकै भएको बताउँदै मुख्यमन्त्री आचार्यले समृद्ध प्रदेश निर्माणका लागि सबै राजनीतिक दल, संघसंस्था तथा आम जनसमुदायमा आव्हानसमेत गरेका छन् । प्रदेशलाई सामाजिक, आर्थिक समृद्धिसहितको विकास गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको उनले बताएका छन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण देश आक्रान्त भए पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न स्वच्छ, सुखी र समुन्त प्रदेश निर्माणका लागि प्रदेश सरकार सबैसँग हातेमालो गरेर अगाडि बढेको जारी सन्देशमा भनिएको छ ।

constitution day_greeting copy (1)