इटहरीः रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले आफ्नो दसैँलक्षित उपहार योजना सार्वजनिक गरेको छ ।
विदेशबाट रेमिट्यान्स पठाएको रकम नेपालमा रहेका ३५ हजारभन्दा बढी एजेन्टहरुबाट प्राप्त गर्दा या त आईएमईको पे वालेटमा सिधै जम्मा गर्दा हरेक हप्ता २ जना भाग्यमानीलाई पठाएको रकमको डबल, हरेक महिना २ जना भाग्यमानीलाई पठाएको रकमको डबलको डबल र बम्पर उपहारमा १ जना भाग्यमानी सेवाग्राहीलाई पठाएको रकमको आठ गुणा अर्थात् डबलको डबलको पनि डबल उपहार प्रदान गर्ने आईएमईले जनाएको छ । आइएमईको यो योजनामा सहभागी हुनको लागि युएईका ग्राहकले युएईमा रहेको अलअन्सारी एक्सचेन्ज, अलहलिया एक्सचेन्ज र रिया मनि ट्रान्सफरमार्फत् नेपालमा आईएमई गर्नुपर्ने आईएमई युएईका प्रमुख उत्तम बस्नेतले बताएका छन् । साथै विदेशबाट सिधै आईएमईको पे वालेटमा रेमिट्यान्स पठाउने ग्राहकले पनि यो योजनामा स्वतः भाग लिन सक्ने बताइएको छ । आईएमई युएईका अधिकृत इश्वर अधिकारीका अनुसार कम्पनीले आईएमई पे वालेटमा सिधै रेमिट्यान्स पठाउने ग्राहकलाई हरेक कारोबारमा २०० रुपैयाँ बोनससमेत दिँदै आएको छ ।
‘आईएमई गरौँ’ भन्ने योजनाका साथ सरल ढङ्गले रेमिट्यान्स पठाउन र पाउन सकिने सेवा सञ्चालन गरिरहेको कम्पनीले ल्याएको यो आईएमई डबलको डबलको डबल योजनाको दोस्रो भाग हो । कम्पनीले अघिल्लो वर्षको दसैँमा पनि यस्तै योजना ल्याएको थियो । आईएमईले आफ्ना ग्राहकलाई लक्षित गर्दै गत वर्ष कोरोना महामारीका कारण विदेशमा ज्यान गुमाएका नेपालीका परिवारलाई राहतस्वरुप निश्चित रकमसमेत प्रदान गरेको थियो । हाल सार्वजनिक गरेको डबलको डबलको डबल योजनामा पनि लक्की ड्र मार्फत् विजेताको घोषणा गरिने आईएमईले जनाएको छ । यो योजनामा आईएमईका संस्थापक, कर्मचारी , एजेन्ट तथा पार्टनर र आईएमई ग्रुपसँग आबद्ध कोही पनि सहभागी हुन नसक्ने कम्पनीले जनाएको छ ।