इटहरीः भारतमा जागिर लगाइदिने भन्दै सुनसरीको इटहरीमा रहेको बिर्ता गोर्खा सेक्युरिटि सर्भिस कम्पनीले बेरोजगार नेपाली युवाहरुलाई ठग्ने गरेको खुलेको छ ।

भारतको अहमदावादमा रहेको सेक्युरिटि कम्पनीमा काम गर्नुपर्ने र मासिक तलब १६ हजार भारतीय रुपैयाँ हुने भन्दै गत भदौ २५ गते भारत पठाइएका युवाहरु भनेजस्तो तलब सुविधा नपाएर असोज १ गते पुनः नेपाल नै आइपुगेपछि ठगीको तथ्य सार्वजनिक भएको हो । भारतको पायनियर सेक्युरिटि कम्पनीमा काम गर्न भन्दै इटहरीको बिर्ता गोर्खा सेक्युरिटि कम्पनीका सञ्चालक भनेर चिनिने मिलन बस्नेत र राजकुमार दाहालले पहाडी जिल्लाबाट इटहरी आएका युवालाई जनही २५ हजार रुपैयाँ असुलेर सीमावर्ति भारतीय बजार जोगबनी पुर्याएर छोडेको पीडित युवाहरुले प्रदेश पोर्टललाई जानकारी दिएका छन् । बिर्ता गोर्खा सेक्युरिटि सर्भिस कम्पनीले एकै लटमा पठाएका ५ जनाबाट २५ हजार रुपैयाँका दरले पैसा उठाएको पीडितले बताएका छन् । तर पैसा लिइसकेकपछि सेक्युरिटि कम्पनीका सञ्चालकले पीडितहरुसँग पैसा लिएको रसिद तथा भपाई भने दिएनन् । आफूहरुले पैसा लिएको रसिद माग गर्दा “पर्दैन, तपाईँहरुलाई केहि समस्या हुँदैन ”भन्दै अभिभावकको रोहवरमा पैसा लिएको तुम्मेवा गाउँपालिका वडा नम्बर २, पाँचथरका चुडामणि खत्रीले प्रदेश पोर्टललाई बताए ।

gs1

इटहरीको एजेन्टले जोगबनी पुर्याएको र जोगबनीबाट अर्कै भारतीय एजेन्टले बसमा हालेर भारतको दरभङ्गा पुयाएपछि ट्रेनमा हालेर अहमदावादमा उत्रिनु भन्दै छोडेको पीडितहरुले बताएका छन् । पाँचै जना पीडितहरु एजेन्टले भनेको कार्यालयमा पुगेपछि त्यहाँको कम्पनीले ९ हजार देखि १० हजार भारतीय रुपैयाँभन्दा बढी तलब नदिने र त्यसमा पनि सञ्चयकोष र बीमाको नाममा मासिक एक हजार चार सय काट्ने थाहा पाएपछि आफूहरु भनेको तलब नपाउने बुझेर फर्किएको पीडितहरुको भनाइ छ । सन्चयकोषको नाममा एक हजार दुई सय भारतीय रुपैयाँ मासिक रुपमा काट्ने तर नेपालीलाई सन्चयकोष बापतको रकम फिर्ता नगर्ने बुझेपछि आफूहरु काम नगर्ने विचार गरी फर्किएको अर्का पीडित धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर १ का गोपाल श्रेष्ठले बताए । आफूहरु काम गर्ने भनेर गएको भएपनि १६ हजारको ठाउँमा ९ हजार मात्र तलब पाउने र युनिफर्मको नाममा पहिलो महिना नै ४ हजार रुपैयाँ काट्ने साथै खाना, र अन्य खर्च गर्दा बचत नहुने भएपछि फर्किन बाध्य भएको अर्का पीडित क्युरेनी गाउँपालिका वडा नम्बर २, तेह्रथुमका विरेन तामाङ्गले बताए ।

रोजगारीको आशामा गएर एक हप्तामै फर्केर आउनेमा मिक्लाजुङ्ग गाँउपालिका मधुमल्लाका रमेश दियाली र शुकबहादुर तामाङ्ग पनि छन् । रमेश र शुकबहादुर भने बिर्ता गोर्खा सेक्युरिटि सर्भिस कम्पनीको पथरीस्थित शाखा कार्यालयबाट पठाइएका हुन् । पीडितहरुले नेपाल फर्किसकेपछि पैसा फिता दिन भन्दै बिर्ता गोर्खा सेक्युरिटिलाई फोन गरेको तर त्यहाँका सञ्चालकले कार्यालयमा आए डण्ठा लगाएर खेदाउने भन्दै धम्की दिएको बताएका छन् । पीडितहरुले जीवन रक्षाका लागि इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी दर्ता गर्ने बताएका छन् । बिर्ता गोर्खा सेक्युरिटि कम्पनीले तोकिएको तलब नपाए आफू जवाफदेही हुने तर कम्पनीसँग गरेको कारोबारबारे कहिँ कतै उजुर बाजुर गर्न नपाइने भन्दै कागज गराएको समेत पाइएको छ । यता, बिर्ता गोर्खा सेक्युरिटि सर्भिस कम्पनीले भने ती युवाहरुले भारतीय कम्पनीमा कुनै काम नै नगरी फर्किएर आफूहरुलाई बद्नाम गरेको आरोप लगाएको छ ।

gs2

१० तारिखमा नेपालबाट हिँडेका ती युवाहरु १६ तारिखमा नेपाल फर्किएको बताउँदै गोर्खा बिर्ता सेक्युरिटि सर्भिसका सञ्चालक राजकुमार दाहालले काममा नलागी फर्किएर तलब नपाएको भन्नु उचित नहुने बताए । भारतीय नागरिकलाई मात्र बीमा र सञ्चय कोषको रकम दिइने गरेको आरोपको खण्डन गर्दै उनले नेपालीलाई पनि बीमा र सञ्चय कोषको रकम दिने गरिएको बताए । तीन दिनको तालिम लिने र काम गर्ने सहमतिमा पठाइएकोमा युवाहरुले काम नगरेको भन्दे उनले काम गरिसकेपछि तलब नदिएमा आफूहरुले दिलाउने बताए । आवश्यक कामदारको संख्या र उनीहरुले पाउने तलब सुविधाको सम्झौता सम्बन्धित रोजगारदाता कम्पनीसँग आफूहरुले गरेर नै कामदार पठाउने गरेको बताउँदै उनले सम्झौता अनुसार भुक्तानी नपाएको देखिए मात्र आफूहरुले दिलाउन सक्ने प्रष्ट पारे ।