इटहरीः सुनसरीको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले कोसीटप्पु वन्यजन्तु आरक्षको क्षेत्राधिकार बढाउने विषय यहाँका स्थानीयको लागि स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।
राष्ट्रिय प्राकृतिक विपद् कोष–कोसी संरक्षण केन्द्रको समुद्घाटन समारोहमा बोल्दै टप्पुका वरिष्ठ संरक्षण अधिकृत अशोक रामले ‘यसलाई विस्तार यदि गरिएन भने आगामी दिनमा यसको संरक्षण र विकास झनै चुनौतिपूर्ण बन्दै जान्छ’ भनेपछि सोही कार्यक्रममा उनको कुरालाई खण्डन गर्दै विस्तार गरेर समस्या समाधन नहुने अन्सारीले बताएका छन् । यस्तै, आगामी दिनमा यो विस्तारको विषयमा कुरा नगर्न पनि अध्यक्ष अन्सारीले खबरदारी गरे ।
‘खबरदार आगामी दिनमा यो विषयमा बोल्नुभयो भने’, अध्यक्ष अन्सारीले भने, ‘पहिले भएको आरक्षलाई व्यवस्थित गर्नुस् ।’ आरक्ष व्यवस्थित नभएकै कारण स्थापनाकालदेखि नै यहाँका स्थानीयले जङ्गली जनावरसँग जुहारी खेल्न बाध्य भएको उनको भनाइ छ । ‘यहाँ २०३२ सालमा आरक्ष स्थापना भयो । अहिलेसम्म जनता मार्ने काम मात्र भयो’, उनले भने ।