इटहरीः आफ्ना विभिन्न विवादास्पद हर्कतहरुका कारण सार्वजनिक चर्चामा आइरहने सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो अराजक कार्यशैली फेरि दोहोर्याएका छन् ।
मेयर चौधरीले महत्वपूर्ण सिफारिसका लागि आफ्नो कार्यकक्षमा आएका दुई महिला सेवाग्राहीहरुलाई अभद्र व्यवहार गरेका हुन् । हिजो दिउँसो करिब ३ः३० बजे सिफारिसमा मेयरको तोक लगाउनका लागि पुगेका इटहरी ४ घर भएकी सीता शेर्पा राई र उर्मिला भट्टराईलाई कार्यालयमा प्रवेश गर्नासाथ मेयर चौधरीले अश्लिल गालीगलौज गर्दै दुव्र्यवहार गरेका थिए । गालीगलौज गर्नुका साथै मेयर चौधरीले दुवै महिला सेवाग्राहीलाई नगर प्रहरी लगाई धम्कीसमेत दिएका थिए । जनप्रतिनिधिबाट नेपालको संविधान २०७२ को भावनाविपरीत महिलामाथि लक्षित गर्दै दुव्र्यवहारको घटना भएपछि महिला अधिकारकर्मीहरुले विरोध जनाएका छन् । महिला सहयोगी समूह, प्रोत्साहन नेपाल, महिला पुनःस्थापना केन्द्र (ओरेक), जागृति महिला महासंघ लगायतका १२ ओटा महिला अधिकारवादी संघसंस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका हुन् ।
संयुक्त प्रेस विज्ञप्तिमा संविधानले प्रदान गरेका अधिकार सुनिश्चित गर्ने जनप्रतिनिधिबाट नै महिलामाथि दुव्र्यवहार गरिनु संविधानप्रदत्त अधिकारप्रतिकूल रहेको उल्लेख छ । महिलामाथि अपशब्द प्रयोग गर्ने व्यक्तिउपर सम्बन्धित निकायबाट कडा कारबाही हुनुपर्ने तथा मेयर चौधरीले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने मागसमेत अधिकारवादी संस्थाहरुको रहेको छ । महिलामाथि दुव्र्यवहार गरेको आरोप लागेका मेयर चौधरीलाई आफूविरुद्ध लागेको आरोपबारे प्रतिकृयाका लागि प्रदेश पोर्टलले सम्पर्क गर्दा मेयर चौधरीले फोन उठाएनन् । उपमहानगरपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराई र मेयर चौधरीका निकटस्थ कर्मचारी महेश्वर कार्कीलाई यसबारे बुझ्न खोज्दा आफूहरुलाई सो विषयमा कुनै जानकारी नै नभएको जवाफ दिए ।