इटहरीः सुनसरीको रामधुनी नगरपालिलाई राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा बालमैत्री स्थानीय शासन अर्थात् बालमैत्री नगर घोषणा गरिएको छ ।
बालमैत्री स्थानीय शासन कायम गर्न आवश्यक पर्ने न्यूनतम सूचक पूरा गरेकाले नगरलाई बालमैत्री घोषणा गरिएको हो । योसँगै रामधुनी नेपालको १० औँ र प्रदेशको दोश्रो बालमैत्री नगर भएको छ । बालमैत्री नगर घोषणा समारोहमा बोल्दै नगरकी उप–प्रमुख सबिनाकुमारी चौधरीले धेरै वर्षको मेहनतले बालमैत्री नगर घोषणा गर्न सफल भएको बताएकी छन् । ‘यो ऐतिहासिक कार्यक्रम हो’, उप–प्रमुख चौधरीले भनिन्, ‘यसका लागि धेरैले अहोरात्र खट्नुभएको छ । यो आजको मात्र देन होइन, गाविस स्तरदेखि नै बालमैत्री बनाउने अभियान थियो ।’ उनले स्थानीय तहको निर्वाचत भएपश्चात् आफूहरुको पहिलो बैठकको पहिलो निर्णय नै नगरलाई बालमैत्री बनाउने गरेको जानकारी गराइन् ।
‘जब रामधुनी नगरपालिका भयो, हामीले यो अभियानलाई निरन्तरता दियौँ’, उप–प्रमुख चौधरीले भनिन्, ‘निर्वाचित भएको पहिलो मिटिङबाट पहिलो ऐजेन्डा नै बालमैत्री बनाउने विषयलाई बनायौँ ।’ कोरोना महामारीको चुनौतिकै बीचमा नगरलाई बालमैत्री घोषणा गर्दा धेरै चुनौतिको सामना गर्नुपरेको उनले बताइन् । बालमैत्री घोषणापछि बालबालिकाका हक अधिकारको सुनिश्चितताका लागि थप काम गर्नुपर्ने भएकाले सबैलाई आग्रह गरिन् । ‘घोषणा गर्नु मात्र ठूलो कुरा होइन । यसलाई टिकाइ राख्न धेरै चुनौतिको सामना गर्नुपर्छ’, उनले भनिन्, ‘त्यसलाई पुरा गर्न सबैले साथ दिनुहुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’ नगरप्रमुख जयप्रकाश चौधरीले नगर बालमैत्री बन्नुले नगरको सुनौलो भविष्य निर्माण सुनिश्चित भएको बताएका छन् ।
‘यो रामधुनी नगरपालिकाको सुनोलो भविष्यसँगे जोगिएको छ । दीर्घकालीन विषयसँग पनि जोडिएको छ’, नगरप्रमुख चौधरीले भने, ‘यसलाई निरन्तर कायम राख्न म सबैलाई अनुरोध गर्दछु ।’ गत वर्ष नै बालमैत्री घोषणा गर्ने अठोट लिए पनि कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको उनले जानकारी दिए । प्रदेश १ का सामाजिक विकासमन्त्री बलवहादुर साम्सोहाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा सुनसरीका प्रदेशसभा सदस्य सर्वध्वज साँवा, इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरी, धरान उपमहानगरपालिकाका नगरप्रमुख तिलक राई र कञ्चनरुप नगरपालिकाका नगरप्रमुखको उपस्थिति रहेको थियो ।