इटहरीः राष्ट्रिय बाल दिवस २०७८ को अवसमा मोरङको बुढीगंगा गाउँपालिकाले एक किशोरीलाई एक दिनका लागि गाउँपालिका अध्यक्षमा चयन गरेको छ ।

सोही ठाउँकी १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाउँपालिकाको एक दिनका लागि अध्यक्षमा चयन गरेको हो । राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरण, बाल हेल्प लाइन १०९८, प्रदेश बालबालिका खोजतलास तथा संरक्षण केन्द्र १०४ को समन्वयमा गाउँपालिकाले उनलाई बाल दिवसको अवसरमा एक दिनका लागि गाउँपालिकाको अध्यक्ष नियुक्त गरेको हो । आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले सुस्मितालाई पदभार हस्तान्तरण गरेका छन् ।

पदभार ग्रहण गरेसँगै सुस्मिताको अध्यक्षतामा बसेको गाउँपालिको बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ । गाउँपालिकाले बालबालिकाका लागि थप ५० लाख बजेट विनियोजन गर्ने, गाउँपालिकामा निर्माण हुने हरे पूर्वाधार बालमैत्री बनाउने र सन् २०२५ सम्म गाउँपालिकालाई बालविवाहमुक्त बनाउने निर्णय गरेको बाल अधिकार परिषद्का सुमन अधिकारीले जानकारी दिए । बैठक सकेलगत्तै अध्यक्ष सुस्मिता अस्पताल र विद्यालयको अनुगमनमा निस्किएको अधिकारीले जानकारी दिए । गाउँपालिकानजिकै रहेको एक अस्पताल र विद्यालय अनुगमन गरेर उनी पुनः गाउँपालिका पुग्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए । त्यसपछि गाउँपालिकामा समीक्षा बैठक बस्ने र आजै पुनः माझीलाई कार्यभार हस्तान्तरण गर्ने कार्यतालिका रहेको छ ।