इटहरीः ठुलो उत्तर चढाब आएको नेपालको सेयर बजारमा बिहीबार सामान्य गिरावट आएको छ । कारोबार समयभरी नै खासै ठूलो उतारचढाव नदेखिएको बजारमा दिनको अन्तिममा सामान्य अंकले घटेर कारोबार बन्द भएको छ ।
यस दिन नेप्से सूचक ०.६२ अंकले घटेर २८७५.९७ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले घटेको छ । कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा केहि सुधार भएको छ । बुधबार ७ अर्बभन्दा कमको कारोबार भएकोमा बिहीबार कारोबार रकम ७ अर्ब माथि पुगेको छ। यस दिन २३० वटा कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।
केहि समयदेखि निरन्तर हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको पछि धेरैले गुमाए तर फेरि लगानीकर्ताको आकर्षण हाइड्रोपावरमै देखिएको छ । बिहिवार केहि हाइड्रोपावर कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ भने अन्य धेरै हाइड्रोपावर कम्पनीको शेयरमूल्य सकारात्मक देखिन्छ ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएकामा हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा धेरै १.९१ प्रतिशतले बढेको छ। बाँकी ९ उपसमूहको सूचक राताम्य देखिएको छ । यो दिन फाइनान्स उपसमूहको सूचक भने सबैभन्दा धेरै १.२८ प्रतिशतले घटेको छ ।
यस दिन हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको ९.९९ प्रतिशत, रैराङ हाइड्रोपावरको ९.२२ प्रतिशत, ग्रिन लाइफ हाइड्रोपावरको ९ प्रतिशत, माउन्टेन हाइड्रोको ७.४१ प्रतिशत र युनियन हाइड्रोको ७.३२ प्रतिशतले बढेको छ ।
यसैगरी रिद्धि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ भने आइसिएफसि फाइनान्सको ४.०२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको २.९४ प्रतिशत, युनिलिभर नेपालको २.८४ प्रतिशत र गोर्खाज फाइनान्सको २.७७ प्रतिशतले घटेको छ ।
यस दिन रिद्धि हाइड्रोपावरको सबैभन्दा धेरै ४९ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ४८ करोड ८५ लाख, रैराङ हाइड्रोपावरको ३३ करोड ६५ लाख र युनाइटेड मोदी हाइड्रोपावरको ३१ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।