इटहरीः पैसा कमाउन, पैसा बचाउन सबैलाई मन लाग्छ । सबैको चाहना भनेको आवश्यकताहरु मन फुकाएर पूरा गर्न पाइयोस् । केही कुरामा मन खुम्चाउनु नपरोस् । तर भनेजस्तो, सोचेजस्तो र चाहेजस्तो सबैको कहाँ हुन्छ र ? हजार चाहनाहरु मनमा आइदिन्छन् । कतिबेला हामी मनलाई बाँधेर राख्छौँ । तर आवश्यकताहरु त पूरा गर्नैपर्यो । हो, पैसा कमाएर नबचाउनेहरुले सिक्नुपर्ने पनि त्यही हो । चाहना होइन, आवश्यकता पूरा गर्नतिर लागियो भने अवश्य पनि हामी अनावश्यक खर्च कटौति गर्न सक्छौँ । अरु घोडा चढ्यो भनेर आफू धुरी चढ्नतिर लाग्दैनौँ । संसारका सफल मान्छेहरु जो पैसालाई बचाउन सफल भएका छन्, उनीहरु पनि त्यसै भन्छन् ।


अब सिकौँ कसरी बचाउने त पैसा !
पैसा धेरैले कमाउँछौँ । बाँच्नको लागि कमाउनैपर्ने हुन्छ । काम गर्छौँ ,खट्छौँ , कमाउँछौँ । तर बचाउने कसो गरी हो त ? जति आउँछ, त्यति जान्छ । कति पटक त यस्तो भइदिन्छ कि आउनेभन्दा जाने धेरै हुन्छ । कन्ट्रोल पनि हामीबाट हुँदैन । यदि यस्तो भयो भने के होला ? एक पटक खुल्ला दिमागले सोचौँ त । हामी कमाउछौँ मात्र तर बचाउन सकेनाँै भने भविष्यमा पर्ने ठूला गर्जो कसरी टार्ने होला ! आज बालबच्चा सानै छन्, स्कुल लेभलमा पढ्दैछन् । भोलि कलेज पढ्ने हुन्छन् । उनीहरुलाई कलेज लेभलमा पढ्नको लागि आजको भन्दा ठूलो फण्डको आवश्यकता पर्छ त्यो बेलाको आवश्यकता कसरी पूरा गर्ने होला ? भोलि बालबच्चाको विवाह गर्ने समय आउँछ । त्यसमा पनि केही खर्च अवश्य हुनेछ । त्यसको लागि आजैबाट जोहो गर्न सकेनौँ भने भोलि कसो गर्ने होला ? उमेर ढल्कँदै गर्दा ऋण लिनुपर्यो भने तिर्ने कसरी होला ? यी सबै वर्तमानमा तेर्सिएका प्रश्नहरु हुन् । यी प्रश्नको समाधानको लागि हामीले कमाएको पैसालाई बचतमा हाल्नु अति नै जरुरी हुन्छ । सीमित स्रोतसाधनबाट पनि हामी अनावश्यक खर्चलाई घटाएर सामान्य जीवनयापन गर्न सक्छौँ ।


ऋण छ ? तिर्नतिर लागौँ
भनिन्छ, ऋणले मान्छेलाई बाँच्न सिकाउँछ । तर धेरै ऋण भयो र त्यसले थिच्दै लग्यो भने मान्छे सँधैभरि बाँचिनरहन पनि सक्छ । त्यो ऋणले मर्न पनि सिकाउन सक्छ । ऋणैऋणले थिचेर आत्मदाहको निर्णयमा पुगेका कैयौँ उदाहरणहरु हामीसँग अहिले पनि छन् । त्यसैले पनि यदि तपाईँले सानो सानो ऋण लिनुभएको छ भने पनि तिर्नतिर लाग्नुहोस् । यदि सबै तिर्न सक्नुहुन्न भने बिस्तारै घटाउँदै लानुहोस जति कम ऋण भयो, त्यत्ति जिन्दगी हलुका हुँदै जान्छ । मन चङ्गा हुदै जान्छ । अनि जीवनयापनलाई सहज बनाउन सकिन्छ । भएको ऋण तिरेर सकियो भने जिन्दगी बचततिर लम्किन्छ । जिन्दगी बचततिर लम्किनु भनेको सकारात्मक पक्ष हो । ऋण सक्नासाथ तपाईँ पैसाको बचत गर्ने बानीको विकास गर्न सक्नुहुन्छ ।


लुगा फेरिफेरी लगाउँ , नयाँ नयाँ होइन
लुगा व्यक्तिको व्यक्तित्व झल्काउने चिज हो । तर व्यक्तित्व झल्काउने भन्दैमा तपाईले नयाँ नयाँ नै लगाउनुपर्छ भन्ने छैन । पुरानै लुगालाई पनि राम्रोसँग धोएर, चिटिक्क पारेर लगाउन सकिन्छ । नयाँनयाँ लुगा लगाउने बानी भयो भने पुराना लुगाले तपाईँको कपबोर्ड भरिएको तपाईँलाई पनि हेक्का नहुन सक्छ । त्यति मात्र नभएर त्यसले खर्च पनि धेरै बढाइरहेको हुन्छ । पुराना लुगालाई धोएर, आइरन लगाएर पनि राम्रो र स्मार्ट हुन सकिन्छ । नयाँ लुगा लगाउँदैमा मात्र तपाईँको व्यक्तित्व झल्किने र पुराना लगाउँदा प्रतिष्ठा घट्ने भन्ने हुँदैन । त्यसैले पैसाको बचतका लागि लुगा फेरी फेरी लगाउँ, नयाँनयाँ होइन ।


मदिरा सके छोडौँ, नसके कम गरौँ
मदिरा बचतको सबैभन्दा ठूलो शत्रु हो । मद्यपान गर्ने बानीले पैसा मात्र होइन, जिन्दगीलाई पनि सकिरहेको हुन्छ । त्यसैले सम्भव हुन्छ भने मदिरा पिउने बानीलाई बन्द गरौँ, यदि सकिँदैन भने बिस्तारै कम गरौँ । मद्यपान गर्ने बानीले बचत गर्ने बानीलाई तिरष्कार गर्छ । कहिलेकाहीँ साथीभाइको वचनलाई काट्न सकिँदैन, वचन काट्न नसक्दा नसोचेको खर्च हुन्छ । मद्यपानको नशामा भएको खर्चको सीमालाई तपाईँ चाहेर पनि कन्ट्रोल गर्न सक्नुहुन्न । त्यसैले मद्यपान छोडौँ । शरीरको महत्वपूर्ण अङ्ग कलेजोलाई पनि जोगाऔँ, अनि पैसालाई पनि जोगाऔँ ।


घरको खाना मिठो
समाज बदलिएको छ । सके दिनको एक छाक नत्र हप्ताको कम्तिमा दुई तीन छाक खाना रेस्टुरेन्टमा खाना मन गर्ने धेरै छौँ । धेरैलाई घरमा पकाउन अल्छि लाग्छ अनि कतिपयलाई स्वादको लागि होटलमा गएर खान मन पर्छ । हो हामीलाई सबै थोकको आवश्यकता पर्छ । घरमा थोकेको बेला कहिलेकाहीँ नयाँ स्वादको खाँचो पनि महसुस हुन्छ । तर जति गरेपनि घरको खाना जत्तिको मिठो खाना अरु हुँदैन । घरको खानालाई मिठो मानेर खाने बानी भयो भने तपार्इँले पैसासँगै स्वास्थ्यलाई पनि जोगाउनुहुन्छ । बाहिरको खाना के कति स्वस्थ छ भन्ने पनि त तपाईँलाई थाहा छैन नि । त्यसैले पैसाको बचत गर्नको लागि घरको खानालाई प्राथमिकता दिनु राम्रो मानिन्छ ।