इटहरीः देश सङ्घीयतामा गएसँगै देशमा कायापलट हुनेगरी परिवर्तन भएको छ । गाउँगाउँमा सडक पुगेका छन् । सडकसँगै सवारी त पुग्नै नै भए । दुर्गम होस् या सुगम, स्थानीय तहमा जनप्रतिनिधिले निर्वाचित हुनासाथ आफूलाई चढ्ने गाडी खरिद गर्न पहिलो बजेट निकासा गरे । तर अलि फरक भयो सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ मा ।
युवा सोचसहित दुरगामी राजनीतिमा होमिएका रामधुनी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष डेगराज फुयाँलले आफ्नै सक्रियतामा टोल विकास र सहयोगदाताको सहयोगमा एम्बुलेन्स खरिद गरी एम्बुलेन्स सेवा कार्डसमेत घरघरमा वितरण गर्दै छन् ।
इटहरी र इनरुवाको बीचमा पर्ने रामधुनी नगरपालिकाबाट आपतकालीन बिरामीलाई स्वास्थ्य संस्था लैजानको लागि आवश्यक पर्ने एम्बुलेन्स वडाको प्राथमिकतामा परेको रहेछ । यहाँबाट बिरामीलाई जिल्ला अस्पताल लैजान इनरुवा पुग्नुपर्छ । गम्भीर रोग लागे धरान वा विराटगरसमेत लानुपर्छ । केही संघसंस्थाले चलाएका एम्बुलेन्स भनेको समयमा उपलब्ध नहुँदा बिरामीलाई समयमा स्वास्थ्य संस्था लैजान पाइँदैन । त्यही भएर कत्तिको उपचार नपाएर मृत्युसमेत हुने अवस्था आउन सक्छ ।
त्यस्ता समस्यालाई समाधान गर्न रामधुनी नगरपालिका वडा नम्बर ५ का अध्यक्षको अगुवाइमा नयाँ एम्बुलेन्स खरिद गरिएको छ । केही वडाको बजेट केही टोल विकास संस्थाहरुबाट आएको सहयोग र स्थानीयहरुको स्वतःस्फुर्त सहयोगमा एम्बुलेन्स खरिद गरिएको हो । रामधुनीमा आएको यो एम्बुलेन्समा वडा नम्बर ५ का २५ वटा टोल विकास संस्थाले स्वतःस्र्फुत रुपमा सहयोग उठाएका छन् ।

19665131_1209184749209727_3394268376169965031_n

विशेषतः कोरोनाको महामारी पहिलो चरणमा फैलिरहेको बेलामा रामधुनी नगरपालिकाबाट बिरामीलाई अस्पताल सम्म पुर्याउन निकै चुनौतीको सामना गनुपरेको रहेछ । कोरोना पोजेटिभ भएका बिरामीलाई त एम्बुलेन्सहरु नबोक्ने भन्दै आउँदै नआउने समस्या आएको रहेछ । “भनेको समयमा एम्बुलेन्स नआउने कहिले काँहि त आज बोलाएको एम्बुलेन्स भोलीपल्ट आउने जस्ता समस्या भोगेपछि टोलविकास समतिहरुलाई बोलाएर छलफल गयाँै अनि एम्बुलेन्स खरिद गर्ने सहमति बनायौँ ” रामधुनी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डेगराज फुयाँल भन्छन् । वडा नम्बर ५ का सबै टोलविकास सँस्था र विभिन्न व्यक्तिहरुले स्वतःस्फुर्त रुपमा पनि एम्बुलेन्स खरिदमा सहयोग गरेका रहेछन् । “ हामीलाई पब्लिकले विश्वास गरिदिनुभयो । व्यक्तिगत रुपमा ५१ रुपैयाँदेखि ३१ हजार रुपैयाँ सम्मको सहयोग हामीले प्राप्त गर्यौँ । ” फुँयालले थपे । एम्बुलेन्स खरिदका लागि पौष महिनामै सबै प्रक्रिया सकेको भएता पनि भन्सार छुटका लागि सङ्घीय मन्त्रालयमा गरिएको पत्राचार र त्यो स्वीकृत भएर आउन समय लागेका कारण एम्बुलेन्स आइपुग्न भने ढिला भएको रहेछ । कोभिडको समयमा सवारी चालक र बिरामीलाई दूरी कायम राख्न बीचमा पार्टेसन भएको यो एम्बुलेन्स सहज हुने विश्वास लिइएको छ ।
रामधुनीमा सरकारीस्तरमा खरिद गरिएको यो पहिलो एम्बुलेन्स खरिदका लागि १३ लाख ६५ हजार खर्च गरिएको छ । एम्बुलेन्सले सुत्केरीलाई निःशुल्क बोक्नेछ भने बिरामी भएका वडावासीलाइ आधा छुट दिइने बताइएको छ । एम्बुलेन्स सञ्चालन सहज बनाउन स्थानीय गुणराज काफ्लेको नेतृत्वमा एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समिति बनेको रहेछ । एम्बुलेन्स सेवा उपयोग गर्न सेवाग्राही कार्ड भरेर प्रमाणीकरणको लागि बुझाउन भर्खरै घरघरमा पुर्याइएको एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गुणराज काफ्लेले बताए । सेवाग्राही कार्ड सम्पूर्ण वडा नम्बर ५ का वडावासी र सहयोगदातासम्म पुर्याइने र सेवाग्राहीको परिचय झल्किने नागरिकता नम्बर तथा जन्मदर्ता नम्बर राखेर प्रमाणित गर्ने नियम बनाइएको छ ।
सेवाग्राही कार्ड यसै हप्तासम्म सबै घरघरमा प्रमाणीकरणसहित पुगिसक्ने वडाध्यक्ष फुयाँलको भनाइ छ । एम्बुलेन्स सेवाग्राही कार्डसँगै वडामा एकप्रकारको लगत सङ्कलन पनि भएको र कतिपय वडावासीहरु सेवाग्राही कार्डमा भर्नकै लागि पनि जन्मदर्ता बनाउन वडामा धाउने गरेको फुयाँल बताउँछन् । त्यसले गर्दा एक हिसाबले व्यक्तिगत घटना दर्ताको काम समयमा गराउनुपर्छ भन्ने जनचेतना पनि भएको रहेछ यस वडामा ।
“यहाँ भएका केही संस्थाका एम्बुलेन्सहरु भाडामा चल्ने रहेछन् । यस्तै, एम्बुलेन्सको लागि प्रमुख जिल्ला अधिकारीसँग समेत जानुपर्ने अवस्था आयो त्यसैले आफ्नै वडामा एम्बुलेन्स किन खरिद नगर्ने भनेर वडासँग सल्लाह गर्यौँ अनि आज वडामा एम्बुलेन्स आएको छ । ” एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गुणराज काफ्ले भन्छन् । एम्बुलेन्सलाई सञ्चालन गर्न टोल विकासका प्रतिनिधि, रामधुनी आवासीय विद्यालयका सञ्चालक समिति अध्यक्ष, वडा कार्यालयका प्रतिनिधि सहितको टोली रहेकाले पारदर्शितामा कमी नआउने अध्यक्ष काफ्लेले हामीलाई बताए ।
एम्बुलेन्स समाजमा नभई नहुने आवश्यकता भएकाले वडाले राम्रो कामको सुरुवात गरेको स्थानीय पर्शुराम पौडेल बताउँछन् । वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका पौडेल वडामा एम्बुलेन्स आएकोमा हर्षित छन् ।
समितिले एम्बुलेन्स सञ्चालनका लागि सवारी चालकको नियुक्ति गरिसकेको र सेवासमेत सुरु गरिएको छ । एम्बुलेन्स रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित कोरोना अस्पतालमा राखिने निर्णय भएको भएता पनि अहिले भने बाटोको र केही सुरक्षाको कारण देखाउँदै वडा कार्यालय परिसरमै राखिँदै आएको काफ्ले सुनाउँछन् । चाँडै नै नगरवासीलाई सहज हुनेगरी एम्बुलेन्सको सम्पर्क नम्बर उपलब्ध गराउने योजना रहेको बताइएको छ ।
अर्का स्थानीय खेमराज पौडेलले एम्बुलेन्स खरिद गर्नु राम्रो काम भएको तथा घरघरमा एम्बुलेन्स सेवा कार्ड पुग्दा झनै स्थानीयले छुटमा सेवा उपयोग गर्न पाउनेमा खुसी भएको बताए । एम्बुलेन्स सञ्चालक समितिमा स्वच्छ छविका व्यक्तिहरु रहेकाले पारदर्शिता हुनेमा आफू विश्वस्त रहेको पौडेलको भनाइ थियो । व्यवस्थापनदेखि आर्थिक कुराहरु झनै पारदर्शी र सेवामुखी बनाउन मासिक रुपमा हिसाबकिताब सार्वजनिक हुनुपर्ने पौडेलको आवाज थियो । सेवामुखी सुरुवात गरेकोमा वडावासीमा खुसियाली छाएको छ । वडाका गर्भवति महिलालाई सुत्केरी गराउन अस्पताल लैजानको लागि निःशुल्क सेवा दिनु तथा वडावासीलाई ५० प्रतिशत छुटमा सेवा दिने सुरुवात गर्नु राम्रो पक्ष भएको स्थानीय गोविन्द आचार्यको बुझाइ छ ।