इटहरीः स्थानीय तहको निर्वाचनबाट इटहरी उपमहानगरपालिकाका मेयर पदमा विजयी भएताका द्वारिकलाल चौधरीले उपमहानगर क्षेत्रमा रहेका सार्वजनिक जग्गा निजीकरणको जालोबाट निकाली उपमहानगरको स्वामित्वमा ल्याउने भनेका थिए । सोही बेला अर्थात् झण्डै ३ वर्ष पहिला मेयर चौधरीले उपमहानगरपालिको वडा नं ९ स्थित डीभीएम स्कुलमा रहेको ‘ग्राउण्ड’लाई पार्क बनाउने भनेका थिए । इटहरीमा क्रिकेट खेल खेल्न सक्ने एक मात्र मैदानको रुपमा हरेको सो ठाउँमा पार्क बनाउने विषयमा क्रिकेट खेलाडी र खेलसँग सम्बन्धितले विरोध गरे । तत्कालीन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ल्याएर धुमधामसँग त्यसको शिलान्यस गर्ने अठोट गरेका मेयर चौधरीलाई सर्वत्र विरोध भएपछि शिलान्यास गर्ने बल पुगेन । उनलाई मिठो गाँसमा ढुङ्गा लागेझैँ भयो । ‘त्यहाँ विवाद छ । शिलान्यास गरे मुख्यमन्त्री पनि विवादमा आउने’ भन्ने थाहा पाएपछि शिलान्यास रोकिएको त्यो बेला कुरा चलेको थियो । आफ्नो कुरामा केही समय भए पनि अडिग रहेर मेयर चौधरी मुख्यमन्त्री राईलाई ल्याउन असफल भएपछि सुनसरीबाट प्रदेशसभामा निर्वाचित तथा प्रदेशसभाकी उपसभामुख सरस्वति पोखरेलको हातबाट शिलान्यास गर्न लागिपरे ।
तर मेयर चौधरीको यो दोश्रो प्रयास पनि असफल भयो । यति मात्रै होइन, सोही समयमा क्रिकेटसँग सरोकार राख्नेहरुले शिलान्यास नगर्न दबाब दिए । मेयर चौधरीले ‘जनता पार्क’ बनाउने भनेर चौतर्फी विवाद भएपछि उपमेयर लक्ष्मी गौतमले सोही ठाउँमा भएको एक क्रिकेट प्रतियोगितामा ‘जनता क्रिकेट पार्क’ बनाउने उद्घोष गरेको नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्यसमेत रहेका कैलाश बिष्टले जानकारी दिए । मेयर चौधरी पनि सो कुरामा सहमत भएर पार्कसहित क्रिकेट मैदान बनाउने भने । तर यो उद्घोष गरेको झण्डै तीन वर्ष बितिसक्दा पनि अझै प्रारम्भिक काम पनि हुन नसकेको क्यानका केन्द्रीय सदस्य बिष्टले बताए । ‘जनता क्रिकेट पार्क भनेर नगरपालिकाबाटै घोषणा भएको थियो’, क्यानका केन्द्रिय सदस्य बिष्टले भने, ‘यदि त्यसलाई जनता क्रिकेट पार्क नै बनाउने हो भने धेरै त्रुटि छ । उहाँहरुले त्यसमा निरन्तरता दिनुभएको छैन । हामीले आश्वासन मात्र पाएका छौँ ।’

2 1

यही खेल मैदानमा सातौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका सम्पूर्ण खेलहरु भएका थिए । तर, त्यसयता उपमहानगरले नै घोषणा गरेको काम नगर्दा राष्ट्रिय र स्थानीय स्तरमा हुने खेलकुदलाई पनि प्रभाव परेको छ । समय–समयमा हुने क्रिकेट गतिविधिका लागि खेलाडी र आयोजक आफैँले खेलमैदान मर्मत गर्ने गरेका छन् । दुःखको कुरा त के भने, उपमहानगरले त्यस्ता खेलकुद हुँदा सान्त्वना पनि दिने गरेको पाइँदैन । ‘इटहरीका स्थानीयवासी सबैको सहयोग लिएर हामीले त्यहाँ निरन्तर रुपमा अन्डर १९ गेम गराएका छौँ, राष्ट्रिय महिला क्रिकेट गरायौँ’, केन्द्रीय सदस्य बिष्टले भने । सुरुमा पार्क मात्र बनाउने भनेपछि आफूहरुले विरोध गरेको बिष्ट बताउँछन् । ‘सुरुमा क्रिकेट पार्क बनाउने नै भनिएको थिएन । पार्क मात्र बनाउने भनिएको थियो’, केन्द्रीय सदस्य बिष्टले भने, ‘इटहरीमा तालतलैया पार्क छ र अन्य पार्क पनि रहेका छन् । त्यसैले यसलाई पार्क बनाउनु हुँदैन भनेर हामीले विरोध गर्यौँ । यो यू १९ र महिला क्रिकेटको लागि उपयुक्त ठाउँ हो ।’ त्यसैले यहाँ पार्क बनाउँदा ठूलो क्षति हुने उनी बताउँछन् ।


हुन त डीभीएम स्कुल मेयर चौधरीले डोजर चलाउँदा निकै चर्चामा आएको थियो । डीभीएम स्कुल ऐलानी जग्गामा बनाइएको भन्दै चौधरीले डोजर लगेर प्रवेशद्वार चर्कादिएका थिए । ‘जनता क्रिकेट पार्क’ बनाउने भनिएको जग्गामा केही मात्रामा निजी जग्गा पनि रहेको पाइएको छ । जुन डीभीएम स्कुलको नाममा रहेको छ । यही कारणले पनि उपमहानगरपालिकाले काम अगाडि बढाउन नसकेको हुनेसक्ने बिष्ट बताउँछन् । खेलाडीहरुको प्रमुख माग नै खेल मैदान रहेको उनको भनाइ छ । ‘हामी खेलाडीहरुको माग भनेको, हामीलाई खेल्ने मैदान चाहियो’, उनले भने, ‘हामीले त निरन्तर प्रयास गरिरहेका छौँ । तर आफ्नो पकेटबाट कति गर्ने ?’

उपमहानगरले क्रिकेट पार्क बनाउने घोषणा गरेपछि बिष्टसहितको टोलीले योजना नै बनाएर उपमहानगरमा बुझाएका थिए । तर, त्यो योजना लिखित दस्तावेजमा नै सीमित भएको छ । अब त क्रिकेटका लागि मैदान बन्ने भयो भनेर ढुक्क भएका बिष्टजस्तै धेरैको सपना मृगतृष्णामा परिणत भएको छ । ‘हामीले यो ठाउँमा स्पोर्ट सिटी बनाऔँ भनेर योजना नै बनाएर उपमहागरमा गयौँ, कति पटक छलफल पनि भयो’, उनले भने, ‘तर त्यो छलफल छलफलमा नै सीमित भयो । त्यसको कुनै कार्ययोजना र कार्यविधि नै बनाइएको छैन । हाम्रो योजना यत्तिकै थन्क्याइएको छ ।’ उनीहरुले इटहरीमा क्रिकेटको विकास कसरी गर्ने र त्यहाँ भौतिक पूर्वाधार कसरी विकास गर्ने भनेर उपहानगरलाई वृहत प्रतिवेदन नै बुझाएका छन् ।

यसरी आफैँले घोषणा गरेको र योजनासमेत तयार भएको कार्यक्रम किन थन्कियो भन्ने विषय रहस्यकै गर्भमा रहेको छ । अनि ‘यही ठाउँमा पुनः राष्ट्रिय र स्थानीय स्तरका खेल कहिले हुन्छ मेयर साब ?’ भन्ने कैलाश विष्टहरुको प्रश्न पनि निरुत्तर बनेको छ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले तीन वर्ष पहिला यो मैदानको भ्रमण गरेका थिए । भ्रमणका बेला, ‘यो ठाउँमा क्रिकेट मैदान बनाउन उपयुक्त हुने र खेलाडी उत्पादनमा कोषेढुङ्गा साबित हुने’ प्रतिक्रिया दिएका थिए । यति धेरै प्रयास गर्दा पनि उपमहानगर कानमा तेल हालेर बस्दा क्रिकेट पार्क बन्ने विषयको आशासमेत मर्न थालेको बिष्ट बताउँछन् ।

मेयर चौधरीकै भनाइ सुन्ने हो भने पनि क्रिकेट मैदान बनाउने कुरा प्राथमिकतामा नै परेको छैन । ‘क्रिकेट मैदान बनाउने मेरो पहिलो प्राथमिकता होइन । म ढाँट्दिनँ’, मेयर चौधरीले भने, ‘पहिलो प्राथमिकता हाम्रो भनेको जनता पार्क नै हो ।’ उनको यो प्रतिक्रियाबाट त्यहाँ क्रिकेट मैदान बनाउने कुरा ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखानसँग मेल खाने देखिन्छ । क्रिकेटभन्दा पहिलो आवश्यकता पार्क रहेको उनी बताउँछन् । ‘शारीरिक व्यायाम हामी कम गर्छौँ । त्यो नजिकैको पिसफुल (शान्त) ठाउँ छ’, मेयर चौधरीले भने, ‘यतिको ठाउँ अहिले इटहरीलाई पार्क बनाउन आवश्यक पनि छ ।’ पार्क बनाउने कुरामा अदालत र त्यसको लागतले पनि भूमिका खेलेको चौधरीको भनाइ छ । डीभीएम स्कुलले कब्जा नै गरेको सो ठाउँलाई उपमहानगरको स्वामित्वमा फिर्ता ल्याउँदा समय लागेको उनको तर्क छ ।

1 (1)

‘निजी क्षेत्रले त्यो सरकारी जग्गा लामो समयसम्म आफ्नो कब्जामा लिएको थियो । त्यसलाई अध्ययन नै गर्न हामीलाई लामो समय लाग्यो’, मेयर चौधरीले भने, ‘उहाँहरु जिल्ला अदालतमा जानुभयो । अदालतले हाम्रो पक्षमा र उहाँहरुको विपक्षमा फैसला गर्यो । मुद्दा परेको समयमा त्यहाँ काम गर्ने कुरा पनि भएन ।’ उनले अगाडि थपे, ‘त्यसमा डिले (बिलम्ब) हुने अर्को कारण के हो भने, हाम्रो उपभोक्ता समितिले काम गर्ने भनेर निणर्य भएको थियो । उपभोक्ता समितिले एक करोडभन्दा बढीको काम गर्न पाउँदैन । तर, डीपीआर १५ करोडको आएको छ ।’

एकै वर्षमा यसको निर्माणको लागि उपमहानगरको बजेटबाट अपुग हुने उनले बताए । त्यसैले यसको विकासमा बहुवर्षे योजना बनाएर नै लाग्ने उनको तर्क छ । ‘यसको निर्माणको लागि श्रोत पनि एकै वर्षमा जुट्दैन’, मेयर चौधरीले भने, ‘हाम्रो बजेट नै दुई अर्ब १७ करोड ४९ लाखको बजेट हो । त्यसबाट ढ्याक्कै एउटै योजनालाई १५/१६ करोड दिन पनि सकिँदैन । त्यसैले हामी बहुवर्षेमा यसको काम गर्छौँ ।’ उपमहानगरको एकल प्रयासमा भन्दा प्रदेश र संघलाई पनि यसको निर्माणमा लगानी गर्न आफूले अनुरोध गरेको उनी बताउँछन् । आगामी दुई वर्षमा यसको निर्माण सक्ने उनको भनाइ छ ।

मेयरले यति भनिरहँदा कतै पनि क्रिकेटको विषयलाई जोडेका छैनन् । उनी अझै पनि क्रिकेट रङ्गशाला बनाउने विषय आफ्नो दोश्रो प्राथमिकताको विषय नै रहेको बताउँछन् । उनी क्रिकेट मैदानको लागि उपमहानगरको १० र ११ नम्बर वडामा जग्गा छुट्याएको बताउँछन् । अब, त्यसो भए यो मैदानमा ७ औँ राष्ट्रिय खेलकुदमा भएकाझैँ प्रतियोगित हुँदैनन् त मेयर साब ? के क्रिकेट खेलाडीले यसको विकल्प खोज्नुपर्ने समय आएको हो ? मेयर साब ! मेयर चौधरीकै भनाइलाई आड लिएर नै भन्ने हो भने पनि यो सपनामा नै सीमित हुने निश्चितजस्तै भएको छ । उनले आगामी दुई वर्षमा यसलाई पूर्ण बनाउने भनेका छन् तर अबको केही महिनामा नै उनको कार्यकाल सकिने छ । जसले गर्दा पार्क निर्माण गर्ने काम अलपत्र बन्ने निश्चित नै बनेको छ । ‘डीभीएम स्कुल ग्राउण्ड कहिले जनता पार्कमा परिणत हुन्छ ?’ भन्ने प्रश्नको जवाफ नपाईने निश्चितप्रायः छ ।