इटहरीः सङ्खुवासभाको मादीमा एकै परिवारका ६ सदस्यको ‘सामूहिक हत्या’ को अनुसन्धानको लागि प्रहरी उपरीक्षकको नेतृत्वमा बिशेष टोली घटनास्थल पठाइएको छ । १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुण कुमार बिसीको निर्देशनमा सङ्घीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको कमान्डमा विशेष टिम घटनास्थल जाँदै छ । टोली यो समाचार तयार हुँदा पनि बाटोमै छ । घटना स्थल पुग्न अझै कम्तीमा ४ घण्टा लाग्ने बताइएको छ । पानी परिरहेको र बाटो असजिलो भएकाले समय लाग्ने प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए ।

अनुसन्धान टिममा प्रदेश प्रहरीको (रिट) समूह समेत संलग्न छ । दाहाल नेतृत्वको विशेष टिममा ‘ट्रयाकर’ डग पिकु र लैला समेत सहभागी छ । साथै फरेन्सिक विज्ञको टोली पनि घटनास्थल जादैछ ।

घटनास्थल भौगोलिक रूपले बिकट रहेको छ । चैनपुरबाट ६ घण्टाको दुरीमा घटनास्थल रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी नेतृत्वको टोली पनि घटनास्थल जादैछ ।

तर बर्खाले बाटो बिग्रिएका कारण घटनास्थल पुग्न अझै केही घण्टाको पैदल दुरी पार गर्नु पर्ने अवस्था रहेको डिएसपी लालध्वज सुवेदीले बताए । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली भने घटनास्थल पुगिसकेको छ र घटनास्थललाई सुरक्षित बनाइएको छ ।

प्रहरी उपरीक्षक दाहाल नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुग्न करिब ५ घण्टा लाग्ने बताइएको छ । दाहाल अपराध अनुसन्धानमा कुशल अनुसन्धानकर्ता हुन । सिआइबीमा लामो समय काम गरेका दाहाल १ नं प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम (रिट)को स्थापनाकर्ता पनि हुन । दाहालको नेतृत्वमा ७ जनाको विशेष टिम घटनास्थल जाँदै गरेको हो ।

१ नं प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीले प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा विशेष टिम पठाइएको बताए । घटना अनुसन्धानको लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुई वटा कुकुर समेत पठाइएको उनले बताए । घटनामा संलग्न हुन सक्ने अपराधी फरार हुन नदिन सङ्खुवासभाका सबै नाकामा प्रहरी परिचालन गरिएको डिआइजी बिसीले बताए । ।

के हो घटना ?

सङ्खुवासभाको मादी नगरपालिका १, खोला गाउँमा आज बिहान एकै परिवारका ६ जनाको शङ्कास्पद अवस्थामा शव फेला परेको थियो । मृतकहरूको टाउको र शरीर भर धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीय बौद्धमान कार्र्कीको घरमा यो घटना भएको प्रहरीले जनाएको छ । कार्कीको घरमा चहलपहल नभएपछि स्थानीय छिमेकीले हेर्दा सबै मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको हो ।

शव फेला पर्नेहरूमा बौद्धमानका छोरा तेजबहादुर कार्र्की, श्रीमती पार्वती कार्र्की, बुहारी कमला कार्र्की, तेजबहादुरकी बुहारी रञ्जना कार्र्की र तेजबहादुरका नाती विपिन र नातिनी गोमा कार्र्की छन । शव बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको अवस्था छ ।