इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी निषेधाज्ञा दुई साताका लागि थप गरेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र रुपमा विस्तार हुन थालेपछि सोको नियन्त्रणका लागि यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यराति समाप्त हुन लागेको तर संक्रमणको जोखिम कम नभएकाले थप दुई साता निषेधाज्ञा यथावत राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेक हिँडडुल गर्न पाइने छैन । सवारीसाधन सिट क्षमता अनुसार यात्रु राखेर स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिनेछ ।
नेपाल भारत सीमा नाका पूर्ण रुपमा बन्द रहनेछन् । विद्यालयमा भौतिक उपस्थितिमा सामान्यतया पठनपाठन गराउन पाइने छैन । तर गर्नैपर्ने भए स्थानीय पालिकाको निर्णय अनुसार स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हाट बजार सञ्चालनका सम्बन्धमा स्थानीय तहको निर्णय अनुसार गर्नुपर्ने कार्यालयद्वारा जारी आदेशमा भनिएको छ ।