इटहरीः मोरङको विराटनगर महानगरपालिका ११ बाट गत शुक्रबार अवैध लागूऔषध गाँजासहित पक्राउ परेका एक जनाको हिरासतमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान घर भएका ३९ वर्षीय भीम कामत रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार तीन किलो ८० ग्राम गाँजासहित पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएकोमा आज बिहान बिरामी भएपछि उपचारार्थ कोसी अस्पताल लगिएका उनको उपचारका क्रममा दिउँसो १ः३० बजे ज्यान गएको हो ।

हिरासतमा रहेका कामतलाई म्याद थप गराउनका लागि जिल्ला अदालत लैजाने तयारी भएकोमा त्यसअघि नै उनको ज्यान गएको बताउँदै प्रहरीले पोस्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने जनाएको छ ।