इटहरीः इटहरी उपमहानगरपालिका क्षेत्रको फोहोर व्यवस्थापनको कार्य गर्दै आएको इन्भ्यारो केयर प्रालिका व्यवस्थापक भरत गिरीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
पछिल्लो एक महिनादेखि कोरोना संक्रमित भई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि नेगेटिभ रिपोर्ट आएकोमा पछि निमोनिया भई गम्भीर बनेका कोइरालाको उपचारका क्रममा प्रतिष्ठानमै आज बिहान निधन भएको हो । नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाका सचिवसमेत रहेका इटहरी २० तरहरा निवासी ४२ वर्षीय गिरीको आजै बिहान इटहरीस्थित गंगाजमुना मुक्ति घाटमा अन्त्येष्टि गरिएको सो वडाका वडाध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार संक्रमण नेगेटिभ भई स्वास्थ्यमा सुधार हुन थालिसकेकोमा निमोनियाका कारण अकस्मात गिरीको निधन भएको हो । विभिन्न सामाजिक संस्थाहरुमा सक्रिय रहेका गिरीका एक छोरा, एक छोरी र श्रीमति छन् ।