धरानः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफूले प्रदेशसभाबाट विश्वासको मत पाउने दाबी गरेका छन् ।
धरान–८ स्थित औद्योगिक क्षेत्रमा ३७ करोडको लगानीमा सुरु भएको ‘ब्राइट फिड प्रालि’ नामक उद्योगको उद्घाटन कार्यक्रममा उनले शनिबार यस्तो बताएका हुन् ‘सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ, आफ्नै दल विभाजित भएपनि म विश्वासको मत लिन्छु, यो सरकार सत्ता लिप्साभन्दा पनि विकासका काम गर्दै जाने भएकोले विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्छन् भन्ने मेरो अपेक्षा हो ।’– उनले भने । उनले प्रदेश १ को सरकार टिकाउन दलहरूबीच कुराकानी भइरहेको समेत बताएका छन् ।
‘राजनीतिमा जे पनि हुन्छ’, उनले भने, ‘नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरुसँग छलफल भइरहेकै छ ।’ आचार्यले विकास निर्माणको काममा तिव्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माण, शान्ति(सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ आफू लागिपरेको पनि बताएका छन् । आफू केन्द्रबाट तल झरेर प्रदेश १ मा केही गर्छु भनेर आएको हुनाले आफूसँग विकासको योजना रहेका मुख्यमन्त्री आचार्यको भनाइ छ । मुख्यमन्त्री भएपछि पहिलो पटक निर्वाचन क्षेत्रमा पुगेका आचार्यले स्वदेशमा सञ्चालन हुने उद्योग व्यवसायलाई प्रोत्साहन दिनु प्रदेश सरकारको पहिलो प्रथमिकता भएकाले आफू धरान आएको बताए ।