इटहरीः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन् ।
आर्थिक मन्दी, कोभिड–१९ का कारण भएको समस्याप्रति सरकार गम्भीर भएको बताउँदै उद्योग व्यवसाय प्रवद्र्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने बताएका छन् । शनिबार धरानमा सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गदैं यतिबेला राजनीतिक परिस्थिति प्रतिकूल रहेकाले परिस्थिति अनुकूल भएपछि सरकारले प्रदेश १ को आर्थिक क्षेत्र मजबुत बनाउन नयाँ योजना ल्याउने बताएका छन् । क्याबिनेटको पहिलो बैठकबाट यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालयहरुबाट अनलाइन सेवा सञ्चालन गर्न निर्णय गरेको छ । कोभिड प्रभाव न्यूनीकरणका लागि १० करोड बजेट विनियोजन गरेर प्रदेश सरकारले काम थालेको उनले बताएका छन् ।
प्रदेश सरकारको विकास समृद्धिका लागि उद्योगी व्यवसायीहरुसँग हातेमालो गरेर अगाडि बढ्ने सरकारको नीति भएकाले सरकारलाई सहयोग गर्नसमेत उनले आग्रह गरेका छन् । कार्यक्रममा प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको आर्थिक समृद्धिका लागि उद्योगी र व्यवसायीको ठूलो भूमिका भएको बताएका छन् । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघ अध्यक्ष गिरीधारी सापकोटा, पूर्ण अध्यक्ष मोहनकाजी शाक्य, प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठलगायतले व्यवसायी र उद्योगीहरुको तत्कालका समस्याहरु उठान गरेका थिए ।