धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकको लापारबाहीका कारण एक महिलाको मृत्यु भएको छ ।

शनिबार बिहान प्रतिष्ठानको आकस्मिक कक्षमा धरान वडा नं. २० विष्णुपादुकाकी ४१ वर्षीया फूलमाया राईको निधन भएको हो । उपचारमा लापारबाही गर्ने चिकित्सकहरु र कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने पीडित पक्षको माग छ । भदौ १७ गते बिहीबार बिहानदेखि नै पेट दुख्ने र बान्ता हुन थालेपछि बिरामीलाई उपचारको लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । बिहीबार बेलुका ५ः०० बजे उपचार गराउँदा बिरामीको दुई वटै मिर्गौलामा भिडियो एक्सरेबाट १५.३ एम.एम. को र पित्तथैलीमा ७ एम.एम.को पत्थरी देखिएको थियो । उपचार गराउँदा सम्बन्धित चिकित्सकको उपस्थितिबिना नै राम्रोसँग बिरामीको उपचार नगरी शुक्रबार डिस्चार्ज पुर्जी दिएको थियो । बिरामीलाई घरमा लगी सिफारिस गरिएको औषधिहरु सेवन गराउँदा बिरामीको अवस्था खराब हुँदै गएका कारण पुनः प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

आज बिहान ३ः०० बजे आकस्मिक कक्षमा भर्ना गरिने बित्तिकै महिलाको निधन भएको हो । सम्बन्धित चिकित्सकले नहेरेको कारण विरामीको निधन भएको आफन्तको भनाइ छ । मृतक महिलाकी नन्द दुर्गा राईले लापरबाही गर्ने चिकित्सकमाथि कडा कारबाही तथा छानबिन गर्नुपर्ने माग राख्दै इमरजेन्सी अस्पतालका डेपुटी डाईरेक्टर दिव्यराज मिश्रलाई पत्र बुझाएकी छन् । उनले स्वास्थ्य मन्त्रालय रामशाह पथ काठमाडौँ, सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगर, धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसियन धरान शाखालाई बोधार्थ पत्र बुझाएकी छन् ।

प्रतिष्ठानमा चिकित्सकको लापारबाहीका कारण महिलाको निधन भएको खबर पुगेपछि मेयर तिलक राई पनि पुगेका थिए । मेयर राईले तुरुन्तै छानबिन गर्नुपर्ने बताउँदै छानबिन समितिले पीडित पक्षलाई वार्तामा बोलाएर मनाएर पठाउन आग्रह गरे । पीडित पक्षले छानबिन समितिले वार्तामा नबोलाएसम्म मृतक महिलाको शव नलाने अडान लिएका छन् । शव अस्पतालकै शव गृहमा राखिएको छ । प्रतिष्ठानको छानबिन समितिले पीडित पक्षसँग भोलि वार्तामा बस्ने आश्वासन दिएको छ ।

239412933_1061781891299538_454075127977943925_n

240592066_399435168457180_2926180954699808258_n