इटहरीः प्रदेश १ का बढी मात्रामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएका तराईका तीन जिल्लाहरुमा अहिले नै विद्यालय खोल्ने सम्भावना काम देखिएको छ ।
प्रदेशका सुनसरी, झापा र मोरङका जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार तत्काल विद्यालय खोल्ने सम्भावना झिनो देखिएको हो । अन्य जिल्लाहरुले खुकुलो गरी निषेधाज्ञा लगाएको समयमा पूर्ण लकडाउन गरेको झापामा आगामी आइतबार हुने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले विद्यालयको सम्बन्धमा टुङ्गो लगाउने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । ‘हामी बैठक बस्दैछौँ’, प्रमुख जिल्ला अधिकारी तिम्सिनाले भने, ‘हाम्रो जिल्ला अलि सेन्सेटिभ पनि छ, त्यसैले आगामी बैठकबाट नै के गर्ने भनेर छलफल गर्नेछौँ ।’ कोभिड संकट व्यवस्थापन केन्द्रबाट पालिकमा महामारीको प्रभावलाई हेरेर यस विषयमा निणर्य गर्न भनेकाले आफूहरु त्यसकै तयारीमा लागेको उनले जानकारी दिए । ७ गाउँपालिका र ८ नगरपालिका गरी कुल १५ वटा पालिका मिलेर बनेको झापाको पूर्वी सिमाना भारतसँग जोडिएको र तेश्रो लहरको कोरोनाको सम्भावनालाई पनि मध्यनजर गरेर विद्यालय खुलाउने विषयमा निणर्य गर्ने उनको भनाइ छ ।
उनको भनाइमा ऐक्याबद्वता जनाउँदै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले ‘पालिकाहरुले जे गर्छन् त्यसलाई नै आफूहरुले सर्वोपरि मान्ने’ बताए । ‘विद्यालय सञ्चालन गर्ने भनेको पालिकाहरुले हो’, सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘शिक्षा समन्वय एकाईमार्फत् पालिकाको विषयमा बुझ्दै छौँ । सम्भवतः आइतबार डीसीसीएमसीको बैठक बस्दै छ । त्यहाँ यसको विषयमा पनि छलफल गर्छौँ ।’ उनले मोरङ पनि भारतसँग खुल्ला सिमाना जोडिएको जिल्ला भएकाले विद्यालय खोल्ने सम्वन्धमा खुल्ला सिमानाको विषयले पनि भूमिका खेल्ने बताए । तर, अहिले कोरोनाको जोखिम कम हुँदै गएकाले सबै खोल्दै जाँदा विद्यालय खोल्ने सम्भावना प्रबल रहेको उनको भनाइ छ । यता, सुनसरीमा पनि अहिले नै विद्यालय खोल्ने छाँटकाँट देखिएको छैन । यी तीन जिल्ला भौगोलिक र अन्य हिसाबले पनि समान भएकाले सबैले एकैखालको निणर्य गर्ने विषयमा छलफल गर्ने सुनसरीका सहायका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
‘अहिले हामी वेट एण्ड वाचकै अवस्थामा छौँ’, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘काठमाडौँको पनि हामी हेरिरहेका छौँ । अब तीन जिल्ला उस्तै छन्, एउटाको निणर्यले अर्कोलाई प्रभाव नपर्ने गरी गर्छौँ ।’ पालिकाले गर्ने निणर्यले विद्यालय खुलाउने सम्बन्धमा प्रभाव पर्ने पौडेल बताउँछन् । अहिले नै विद्यालय खुल्छ भनेर भन्न नसकिने तर, कुनै निणर्य हुन पनि सक्ने उनको भनाइ छ ।