धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीले बिहीबार पत्रकार सम्मेलन गरी आइतबारदेखि प्रतिष्ठानको सेवा बहिष्कार गर्ने निर्णय गरेकोप्रति मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालले आपत्ति जनाएको छ ।
’पदाधिकारीहरूको राजीनामा वा कारबाहीको सन्दर्भमा नेपाल सरकारको उच्चस्तरीय छानबिन समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो सम्मानित संस्थाको प्रतिवेदनको निर्णयको सम्मान गर्दै गुण र दोषको आधारमा निर्णयहरु गरी समस्या समाधानको पहल गर्नुपर्नेमा यसको विपरीत स्वास्थ्य क्षेत्रलाई आतङ्कित बनाउने, जनताहरूको स्वास्थ्य सेवामाथि गम्भीर खेलबाड गर्ने कसैलाई छुट नभएको हाम्रो पार्टीको ठम्याइ छ’ कुनै पनि छलफल नगरी मनोमानी ढङ्गले अराजक शैलीमा गरिएको आन्दोलनको घोर भर्त्सना गर्दै विज्ञप्ति निकालिएको अध्यक्ष सन्जुहाङ्ग सावाँले बताए । मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालले आफ्नो विज्ञप्तिमा ६ बुँदे ध्यानाकर्षणसमेत उल्लेख गरेको छ ।
२०७८ भदौ २० गते आइतबारदेखि इमरजेन्सी र कोभिड अस्पतालको सेवाबाहेक ओ.पी.डी.लगायत अन्य स्वास्थ्य सेवाहरू अनिश्चितकालका लागि बन्द गर्ने निकृष्ट कार्यतालिका तत्काल फिर्ता लिई स्वास्थ्य सेवा सुविधालाई निरन्तरता दिइनुपर्ने, प्रतिष्ठानका पदाधिकारीहरूको कार्यकक्षमा लगाइएका अनिश्चितकालीन तालाबन्दी तत्काल खुलाइनुपर्ने, प्रतिष्ठानका पदाधिकारीहरूको सवारीसाधनहरुको चाबी बिनासर्त फिर्ता गरिनुपर्ने, प्रतिष्ठानभित्र गरिएको शुद्धीकरण आन्दोलनका संयोजक डा. एस.पी. रिमालको नेतृत्वमा गरिएको अवैज्ञानिक,अलोकतान्त्रिक अस्वस्थ आन्दोलन तत्काल स्थगन गरिनुपर्ने, नेपाल सरकारको उच्चस्तरीय छानबिन समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनको उचित निर्णयको कदर गर्दै दोषीउपर अबिलम्ब कानूनी कारबाही गरी स्वस्थ आन्दोलनरत पक्षको सम्बोधन गरिनुपर्ने माग विज्ञप्तिमा गरिएको छ ।
मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालका धरान नगर अध्यक्ष सन्जुहाङ साँवा लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिष्ठानको गरिमा, प्रतिष्ठान भित्रको अस्वस्थ प्रतिस्पर्धा र स्वास्थ्य क्षेत्रको विश्वसनीयतालाई प्रभावकारी बनाउन माग गरिएको छ । अन्यथा जस्तोसुकै कदम चाल्न बाध्य हुने र सम्भावित र्दुघटनाहरुको सम्पूर्ण जिम्मेवारी शुद्धीकरण आन्दोलनका संयोजकले लिनुपर्ने पनि प्रेस विज्ञप्तिमार्फत् लिम्बुवानले चेतावनी दिएको छ ।