बेलकाः नगरस्तरीय मानवअधिकार समूह बेलकाले आर्थिक वर्ष ०७७÷०७८ को पहिलो बैठक समापन लगत्तै कोसी नदीको बहाव अनियन्त्रित भइ दिनानुदिन कटान गर्न थालेको स्थानमा पुगेर अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट ५० थान जाली र स्थानीय तह बेलका नगर सरकारबाट ढुङ्गा ढुवानी गर्न इन्धनको सहयोग भएको स्थानीय वडा न ३ का नवीन राईले जानकारी दिए । स्थलगत अनुगमनको क्रममा त्यहाँका स्थानीयवासीहरूको श्रमदानमा जाली भर्ने रुखका हाँगा आदिले छेकथुन गर्दै गरेका छन् भने पानीको बहाव तिव भएकाले केही दिन यताको अविरल वर्षाले लगभग ५०० मिटरभन्दा बढी खेतियोग्य जमिन कटान गरी नदीले बहावको दिशा नै परिवर्तन गर्न थालेको देखिन्छ ।
यस किसिमको अनियन्त्रित बहावबाट बेलका नगरपालिकाको वडा न. २, ३, ८ र ९ अत्यन्त जोखिममा रहेको अवस्था छ । साथै सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकासमेत जोखिममा रहेक छ । त्यस क्षेत्रका खेतियोग्य जमिन साथै मानव बस्ति नै विस्थापित हुन लागेको छ भने त्यस किसिमको क्षतिबाट जोगाउन सम्बन्धित निकायको समयमै त्यसतर्फ ध्यानाकर्षण गराउन स्थानीय वडा न ९ का गौरी श्रेष्ठले आग्रह गरे ।