इटहरीः नेपाली कांग्रेस प्रदेश नं. १ का संसदीय दलका नेता एवं जिल्ला सभापति राजीव कोइरालाले भीम आचार्यको नेतृत्वको सरकार ढल्ने निश्चित भएकोले अब गठबन्धनको सरकार बन्ने धारणा व्यक्त गरेका छन् ।
नेता कोइरालाले नेपाली कांग्रेस धरान नगर समितिको भवनमा आयोजित गिरिराज सिर्जनशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन् । नेता कोइरालाले गठबन्धनको सरकार निर्माणको विषयमा छलफल अगाडि बढिसकेकोले अब चाँडै गठबन्धनको सरकार बन्ने बताए । नेकपाका १० जना सांसद माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेकोले यो सरकार धरापमा परेको नेता कोइरालाको भनाइ थियो । उनले अब प्रदेश सरकारलाई निरन्तरता दिन गठबन्धनको सरकार बन्ने तयारीमा रहेको बताए । उनले अहिले गठबन्धनमा पनि सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस नै भएकोले सरकारको नेतृत्व पनि कांग्रेसले नै लिने उल्लेख गरे ।

प्रदेश नं. १ मा सरकार बन्न ५१ सिटको आवश्यकता पर्छ । १० जना सांसदले पार्टी परिवर्तन गरेपछि ४१ सिटमा रहेको नेकपा अल्पमतमा परेको छ । नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (१) अनुसार बहुमतको सरकारको मुख्यमन्त्रीका रुपमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले भीम आचार्यलाई सफथग्रहण गराएका थिए । तर यो सरकार अल्पमतमा परेसँगै आजै प्रदेश सरकारको सचिवालयमा गठबन्धनका लागि पार्टीबीच छलफल रहेको नेता कोइरालाले जानकारी दिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राप्रपा लगायतको छलफल रहेको उनले जानकारी दिए ।