धरानः अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’ पत्रकार भैरव आङ्लालाई प्रदान गरिएको छ ।

नेपाली काङ्ग्रेस र नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्यमा आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’ बिहीबार धरान २ स्थित पार्टी कार्यालयमा पत्रकार आङ्लालाई प्रदान गरिएको हो । प्रदेश नं. १ संसदीय दलका नेता एवं कांग्रेस सुनसरीका सभापति राजीव कोइराला, सङ्घीय सांसद मिना सुब्बा, प्रदेश १ का प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ र धरान उपमहानगरपालिकाका मेयर एवं ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’का संस्थापक संरक्षक तिलक राई लगायतका नेताहरुले नगद २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए ।

240114332_292807252652741_2418375869744782410_n

नेपाली कांग्रेस र नेपाल प्रेस युनियनको सहकार्यमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्न कांग्रेस धरान उपमहानगर सभापति तथा मेयर राईले उपमहानगरपालिकाबाट नगर प्रमुखलाई प्राप्त हुने सेवा सुविधा भत्ताको रकमबाट कुल २ लाख रुपैयाँ प्रदान गरी अक्षयकोष स्थापना गरेका थिए । मेयर राईले अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको योगदानको कदर गर्दै उनको सम्मानमा पत्रकारिता पुरस्कार खडा गरिएको बताए । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले जीवित व्यक्तिको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्नु अत्यन्तै राम्रो पक्ष रहेको बताए ।

अध्यक्ष राईले आदिवासी तथा जनजाति पत्रकारिता पुरस्कारका लागि पनि मेयर राईले अक्षयकोष खडा गरिदिएको भन्दै धन्यवाद व्यक्त गरे । अग्रज पत्रकार आचार्यले लामो समयदेखि पूर्वी पोष्ट साप्ताहिक पत्रिका प्रकाशित गर्दै आएका छन् । कार्यक्रममा कांग्रेस सुनसरीका सचिव सुजेन्द्र गोले तामाङ, कांग्रेस धरानका सचिव श्याम पोख्रेल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकबाल अहमदले सम्बोधन गरेका थिए भने कार्यक्रमको सभापतित्व प्रेस यूनियन धरानका संयोजक मात्रिका प्रसाद नेपालले गरेका थिए ।