इटहरीः मोरङको विराटजगर महानगरपालिका १५ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले २१ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–८ घर भई इटहरी–४ मा डेरा गरी बस्दै आएका २७ वर्षीय दीपेन्द्र राई र २५ वर्षीया उनकी श्रीमती शर्मिला राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उनीहरुका साथबाट प्रहरीले ह्यापी बर्थडे लेखेर र्याप गरिएको कार्टुनमा राखिएको २१ किलो गाँजा बरामद गरेको छ । प्रदेश–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार भई विराटनगरतर्फ गइरहेका उनीहरु विशेष सूचनाका आधारमा परिचालित इलाका प्रहरी कार्यालय इटहरीको टोलीद्वारा पक्राउ परेका हुन् ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले बिहार राज्यअन्तर्गत अररिया जिल्लाका ३० वर्षीय टुनटुन यादवलाई पनि पक्राउ गरिएको प्रवक्ता राईले बताए । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । यसैबीच, सुनसरीको धरान उपमहानगरपालिका १७ बाट २० किलो बेवारिसे गाँजासमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।