इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत मुख्य बजार र आसपासका क्षेत्रमा हुने अव्यवस्थित पार्किङले ट्राफिक व्यवस्थापनमा चुनौति थपिँदै जान थालेको छ ।
प्रदेश १ का १४ वटै जिल्लासँग सडक सञ्जालमार्फत् सम्बन्ध जोडिएको इटहरीका विभिन्न ठाउँमा भएका अव्यवस्थित पार्किङले समस्या हुने गरेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमनकुमार तिम्सिनाले जानकारी दिए । इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरअगाडि, उपमहानगरको कार्यालय आसपास, संगीत चौक, हङकङ मार्केट, आइतबारे लाइन र हलगडामा रहेको यातायात कार्यालयको आसपासमा बढी मात्रामा सवारी अव्यवस्थित तवरले पार्किङ हुने गरेको उनी बताउँछन् । जसले गर्दा प्रदेशका अन्य जिल्ला र प्रदेशबाहिरका जिल्लामा आवतजावत गर्ने सवारीसाधन तथा दैनिक आवातजावात गर्ने मानिसलाई समस्या हुने गरको उनको भनाइ छ । ‘इटहरीको हकमा भन्नुपर्दा यहाँका ठूला सपिङ कम्प्लेक्स, स्कुल र व्यस्त व्यापारिक चहलपहल हुने ठाउँ तथा व्यस्त पब्लिक मुभ्मेन्ट हुने ठाउँ सरकारी कार्यालय होस् या अन्य कार्यालयको व्यवस्थित पार्किङ भएको अवस्था छैन’, प्रवक्ता तिम्सिनाले भने, ‘प्रायः सडकमै एक किनारातर्फ म्यानेज गनुपर्ने (व्यवस्थापन गनुपर्ने) बाध्यता ट्राफिक प्रहरीलाई छ । यी र यस्ता व्यवस्थित पार्किङ नभएका कारणले स्वभाविक रुपले ट्राफिक जाम र दुर्घटना बढ्दै गएको छ ।’
यस्तै, पछिल्लो समयमा मानिसहरुको सवारीसाधनमा व्यापक पहुँच भएकै कारण सवारी बाक्लिएका र त्यसले पनि पार्किङमा समस्या उब्जिएको उनको ठम्याइ छ । यसरी अनियन्त्रित रुपमा बढेको पार्किङलाई निरुत्साहित गर्न आफूहरुले विभिन्न अभियान र कारबाही चलाएको उनले जानकारी दिए । ‘कारबाहीचाहिँ ट्राफिक प्रहरीले इटहरी मूख्य चौकमा कुनै पनि सवारीसाधनलाई पिक एण्ड ड्रप (चढाउन, उतार्न) नदिएको अवस्था छ’, प्रवक्ता तिम्सिनाले भने, ‘रोक्न निषेधित क्षेत्रमा रोकिएका सवारी साधनलाई कारबाही गरेका छौँ भने सवारी आवागमनलाई नै असर पर्नेगरी राखिएका सवारीसाधनलाई ह्विल लक लगाएर पनि हामीले कारबाहीको दायरामा ल्याएका छौँ ।’ यस्तै नगरका विभिन्न ठाउँमा रहेका सडकपेटीमा अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारीसाधनलाई पनि कारबाही गरिएको उनले जानकारी दिए ।
इटहरी व्यावसायिक गन्तव्य बन्दै गएकोले पनि यो समस्या सिर्जनामा थप बल पुगेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख एवम् प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसी बताउँछन् । दुर्घटनाको मुख्य कारण अव्यवस्थित पार्किङ नभए पनि कही न कहीँ यसले दुर्घटना हुनमा भूमिका खेलेको उनको भनाइ छ । ‘इटहरीमा बढ्दो शहरीकरणसँगै जनघनत्व पनि दिनानुदिन बढ्दै गएको र सोही कारण सवारीसाधनको संख्यामा पनि वृद्धि हुँदै गएको छ’, प्रमुख केसीले भने, ‘सोही कारण इटहरी चौकमा पनि हामी हेर्न सक्छौँ, पार्किङको व्यवस्था नहुँदा जथाभावी पार्किङ गरेको पाइन्छ । तर, पछिल्लो समय हामीले हेर्दा धेरैजसो सवारी दुर्घटना तिव्र गतिकै कारण भएको छ । केही मात्रामा भने सवारीसाधन अनियन्त्रित पार्किङले पनि दुर्घटना निम्त्याएको छ ।’ यसरी हुने पार्किङकै कारण सवारीसाधन चोरीसमेत भएको पाइएको छ ।
प्रहरीलाई मात्र होइन, आम नागरिक र व्यवसायीलाई समेत अव्यवस्थित पार्किङले समस्या थपेको नागरिक समाजका प्रतिनिधिहरुले बताएका छन् । आम नागरिकलाई आवतजावत र व्यवसायीलाई व्यवसाय सञ्चालनमा समस्या भएको नागरिक समाज इटहरीका उपाध्यक्ष राजु केसीले जानकारी दिए । ‘मुख्य कुरा त यो पार्किङले गर्दा आवागमनमा नै बाधा पुग्छ’, समाजका उपाध्यक्ष केसीले भने, ‘आवागमन भन्नाले यातायात आवागमन भयो, पैदल यात्रीलाई पनि गाह्रो छ । यसले व्यापार व्यवसायलाई पनि समस्या परेको छ ।’ यति मात्रै होइन, अधिकांश ठाउँमा राखिएको ‘नो पार्किङ’ लेखिएको होर्डिङ बोर्डमा नै टँसाएर पार्किङ गरेको समेत पाइएको छ । यहाँ रहेका ठूला व्यवसायिक भवन, सरकारी तथा निजी कार्यालय, विद्यालय र अन्य प्रशासनिक तथा गैर प्रशासनिक भवनबाहिर राखिएको होर्डिङ बोर्डमा नै पार्किङ गर्ने गरेको पाइएको हो । ट्राफिक प्रहरीले भने ती बोर्ड निजी क्षेत्रबाट नै राखिएकाले प्रहरीले सवारीसाधनलाई कारबाही गर्न नमिल्ने बताएको छ ।