इटहरीः पछिल्लो २ कारोबार दिनमा ११८.२३ अंक घटेको नेप्से परिसुचक बुधबार झिनो अङ्कले बढेर बन्द भएको छ ।
यो दिन नेप्से परिसूचक १.१४ अङ्क बढेर २९७६.९८ विन्दु कायम भएको छ । बुधबारको सेन्सेटिभ इन्डेक्स ०.१७ अङ्क बढेको छ । कारोबार अवधिमा ३०१८ विन्दुसम्म पुगेको परिसूचक कारोबारको अन्त्यमा तीन हजारमुनि पुगेर बन्द भएको छ । यस दिन नेप्से बढेपनि कारोबार भने घटेको छ । बजार घटेपछि लगानीकर्ता लगानी गर्नुभन्दा तटस्थ बस्न रुचाएका कारण कारोबार कम भएको विश्लेषण छ । अघिल्लो कारोबार दिन १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ९ अर्बको शेयर कारोबार भएको छ । यस दिन २२६ कम्पनीको १ लाख ४ हजार ३४२ पटकको कारोबारमा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
समूहगत परिसूचकमा १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७६ प्रतिशत बढेको छ । त्यसैगरी, जीवन बीमा उपसमूहको परिसूचक ०.४४ प्रतिशत, बैंकिङ्गको ०.४ प्रतिशत र लगानीको ०.०१ प्रतिशत बढेको छ । ओरालो लागेका उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक २.७५ प्रतिशत घटेको छ । अन्य उपसमूहको परिसूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ । कारोबारका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५९ करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
त्यसैगरी, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ । बुधबार रुरु जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ७.५५ प्रतिशत बढेको छ । शेयर मूल्य बढ्ने अन्य कम्पनीमा यस दिन ओरियन्टल होटल, युनाइटेड मोदी र हिमालयन उर्जा छन् । यी कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।