इटहरीः झापाको अर्जुनधारा–४ मदनपुरबाट लागूऔषध खैरो हेरोइन (ब्राउनसुगर) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ वर्षीय एबिट बुढाथोकी, ३० वर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ वर्षीय सौगात खतिवडा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उनीहरुलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो ७ ग्राम खैरो हेरोइन (ब्राउनसुगर) सहित पक्राउ गरेको हो ।
साथै उनीहरुका साथबाट नगद ४९ हजार ५ सय रुपैयाँसमेत फेला पारी बरामद गरिएको छ । पक्राउ परेका तीनै जनाउपर थप अनुसन्धान तथा लागूऔषध मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।