इटहरीः मोरङको कानेपोखरी गाउँपालिका–६ शिवालय चोकबाट पेस्तोलसहित दुई जनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ३० वर्षीय पूर्णबहादुर बोहरा र ३० वर्षकै रुद्रबहादुर क्षेत्री रहेको सशस्त्र प्रहरी वल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । उनका अनुसार गएराति ११ः१५ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी वल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी चौकी रमाइलोबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । क्षेत्रीका घरमा छापा मारी प्रहरीले मेड इन युएसए लेखिएको एउटा पेस्तोल, तीन राउन्ड गोली र एउटा खुकुरी बरामद गरेको छ ।

पक्राउ परेका दुवै अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार दुवै अभियुक्तहरु बीचको सम्बन्ध र हतियार राख्ने प्रयोजनबारे हालसम्म केही खुल्न सकेको छैन ।