इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा गएराति ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रदेश १–०२–०४१ प ९१२५ नम्बरको मोटरसाइकलका चालक मोरङको पथरीशनिश्चरे–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बू रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार पूर्वपश्चिम राजमार्गमा पूर्वबाट आइरहेको गरिएको को१ख ६५०५ नम्बरको ट्रिपरले राति करिब ९ः०० बजे ठक्कर दिँदा गम्भीर घाइते भएका लिम्बूलाई उपचारार्थ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारका क्रममा उनको राति १०ः४० बजे ज्यान गएको प्रवक्ता तिम्सिनाको भनाइ छ ।

दुर्घटना गराउने ट्रिपर र त्यसका चालक मोरङको बेलबारी नगरपालिका–३ का ४८ वर्षीय बुद्धिमान उरावलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाउँदै प्रवक्ता तिम्सिनाले ट्रिपर तिव्र गतिमा चलाइएकाले दुर्घटना भएको प्रष्ट पारे ।