इटहरीः नबिल बैंक अन्तर्गतको नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेड फेरि म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ ।
कम्पनीले नबिल ब्यालेन्स्ड फन्ड ३ नामक बन्दमुखी फन्डको निष्कासन गर्न लागेको हो । कम्पनीहरुको साधारण शेयर भर्दाभर्दा गरेर नपरेपछि हैरान भएका लगानीकर्तालाई अहिले आउने फन्डहरुले केही मात्रामा भएपनि राहत दिन लागेका छन् । भर्खरै मेगा बैंकले निष्कासन गरेको म्युचुअल फन्डमा मागभन्दा बढी एकाई फन्ड माग भएकै बेला नबिलले पनि फन्ड निष्कासन गर्न लागेको छ । नबिलले निष्कासन गर्ने फन्डको एकाईका लागि भदौ २५ गतेदेखि आवेदन दिन सकिनेछ ।
नबिलले प्रतिएकाई १० रुपैयाँ अङ्कित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड एकाई बिक्रीमा ल्याउन लागेको हो । निष्कासन गरिने कुल एकाईमध्ये कुल बिक्री भएको एकाई संख्याको १५ प्रतिशत वा एक करोड ५० लाख कोष प्रवद्र्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख एकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात् १० लाख एकाई योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख एकाई सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
उक्त फन्डमा न्यूनतम १०० देखि एक करोड एकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो फन्डको एकाईमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै एकाई बिक्री नभएको खण्डमा असोज ८ गतेसम्म आवेदन म्याद थप हुनेछ । १० वर्ष अवधिको उक्त फन्डको एकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।