धरानः धरानमा सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थ (स्ट्रिट फुड) पसल सञ्चालन गर्ने व्यवसायीहरुलाई खाद्य स्वच्छताबारे सचेत गर्ने उद्देश्यले दुई दिने स्वच्छता अभिवृद्धि कार्यक्रम गरिएको छ ।
खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सुनसरीको आयोजना तथा धरान उपमहानगरपालिकाको सह–आयोजनामा उद्योग वाणिज्य संघको सभाहलमा खाद्य स्वच्छता गर्ने उद्देश्यले भदौ ११ र १२ गते दुई दिन अभिवृद्धि कार्यक्रम गरिएको हो । अभिवृद्धि कार्यक्रममा धरानका स्ट्रिट फुड पसल सञ्चालन गर्ने ६५ जना व्यवसायीहरुले सहभागिता जनाएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार विज्ञ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्राविधिक र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुखले दुई दिन सहजीकरण गरेको अधिकृत सापकोटाले बताए । शनिबार समापन भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका मेयर तिलक राईले कार्यक्रममा सहभागी भएका व्यापारीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । मेयर राईले समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपभोक्ताको स्वास्थ्यमा असर नपर्नेगरी स्वच्छ खाद्यवस्तु बिक्रीवितरण गर्न आग्रह गरे ।
स्ट्रिट फुड मात्र नभई खाद्य सामग्री बिक्रीवितरण गर्ने जो कोही व्यवसायीले विषेश गरेर सरसफाइमा ध्यान दिनुपर्ने मेयर राईको भनाइ थियो । मेयर राईले सडक छेउछाउ (स्ट्रिट फुड) व्यवसाय सञ्चालन गर्दा नगरपालिकामा अनिवार्य दर्ता गर्न पनि आग्रह गरे । कुनै पनि बेला धरान उपमहानगरपालिकाले छड्के अनुगमन गर्न सक्ने बताउँदै मेयर राईले यदि छड्के अनुगमनको क्रममा खाद्य वस्तुमा स्वच्छता नभएको, सरसफाइमा ध्यान नदिएको पाइए व्यवसायीलाई कारबाही पनि गरिने बताए । यस्तै, उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख तथा सूचना अधिकारी खगेन्द्र खतिवडाले व्यवसाय कसरी दर्ता गर्ने ? भन्ने बारेमा जानकारीसमेत गराएका थिए । अनुगमन अधिकृत सापकोटाका अनुसार दुई दिनको अवधिमा खाद्य पदार्थमा के के सामग्री मिसावट गर्ने ?, पकाउने पदार्थमा रङ्गको प्रयोग गर्नु हुँदैन, कुन कुन सामग्रीहरु प्रयोग गरेर बिक्री गर्ने ? ठेलाको आकार तथा प्रकार कस्तो हुनुपर्छ ? सरसफाइ कसरी गर्ने ? लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।