इटहरीः कुनै बेला महेन्द्र राजमार्गबाहेक सुनसान देखिने इटहरी उपमहानगरपालिका र यसले ओगटेको क्षेत्र अहिले पूर्वी नेपालको चलेको व्यापारिक केन्द्र बनेको छ । 

प्रदेश १ कै राजधानीको दाबी गर्ने इटहरी एकाएक चर्चित व्यापारिक केन्द्रको रुपमा विकास हुनुमा कोसी र महेन्द्र राजमार्गसँगै चौतर्फी जोडिएका सडक र यहाँ भएको तिव्र शहरीकरण पनि हुन् । पूर्वमै तिव्र गतिमा विकास भएको शहरको नाम लिँदा इटहरीको नाम पहिलो नम्बरमै आउँछ । पछिल्लो पुस्ताले नै हेर्दा पनि विगत १५ वर्षसम्म इटहरी खासै भिडभाडको शहर थिएन । विकासका कामहरु तिव्र हँुदै थिए तर आज विकास भित्री भागसम्म पुगेको छ । पहिला बजार केन्द्रित विकास अहिले कुनाकुनासम्म पुगेर इटहरीको नाम चम्काइरहेको छ । विकास र व्यापारसँगै इटहरीमा घरजग्गाको भाउ निकै आाकाशिएको छ । जग्गाको भाउ भने इटहरी बजारको मात्र होइन, उपमहानगरभित्र नै पनि उछालिएको छ ।

list of land price.

 

उपमहानगरभित्र जग्गाको सरकारी मूल्यांकन नै प्रतिकठ्ठा एक करोड ३० लाख रुपैयाँसम्म रहेको पाइएको छ । इटहरी उपमहानगरपालिकाको चालु आर्थिक वर्षको प्रस्तावित सरकारी मूल्याङ्गकन अनुसार सस्तोमा प्रतिकठ्ठा २ लाखदेखि महँगोमा १ करोड ३० लाख रुपैयाँसम्म छ । सुरुमा पूर्वी नेपालका पहाडी जिल्लाका बासिन्दाहरु बसाइ सरी आएर इटहरीलाई व्यस्त र अभ्यस्त बनाउँदै गएको पाइन्छ । यसरी इटहरीलाई बसोबासको थलो बनाएर पाँचथर, ताप्लेजुङ्ग, धनकुटा, तेह्रथुम, भोजपुर खोटाङ्ग लगायतका जिल्लाका बासिन्दाहरु भmरेको पाइन्छ । २०५२ देखि २०६२ सम्म चलेको माओवादी सशस्त्र संघर्षको अवधिमा पहाडी क्षेत्रमा माओवादी गतिविधि बढेकाले त्यस क्षेत्रमा असुरक्षित हुने डरले मानिसहरुले सुरक्षित आश्रयका रुपमा इटहरीलाई रोजे । किनभने यहाँ, नेपाली सेनाको तत्कालीन पूर्वी पृतना मुख्यालय र पकलीमा रहेको सशस्त्र प्रहरी बलको १ नम्बर बराह वाहिनी गरी दुई सुरक्षा निकायका ठूल्ठूला अड्डा थिए ।

लोकतन्त्र स्थापनापछि भएका लिम्बूवान आन्दोलन, खम्बुवान आन्दोलन, मधेश आन्दोलन, थारु आन्दोलनजस्ता क्षेत्रीयतावादी आन्दोलनका कारणले अन्य स्थान असुरक्षित रहँदा इटहरी भने सुरक्षित शहरका रुपमा स्थापित भइरहेकाले जनसंख्याको चाप इटहरीमा झन् बढ्न गयो । मानिसको आगमन बढेपछि इटहरीको घरजग्गा कारोबारमा एकै पटक ठूलो हलचल आएको हो । सबै क्षेत्रबाट इटहरी आउने बासिन्दा मिसिएका कारण यहाँ सबै जातजातिमा मान्छेहरुको बसोबास रहेको छ ।

किन रोजाइमा पर्छ त इटहरी ?
मान्छेहरुको पहिलो रोेजाइमा इटहरी किन पर्छ त ? यहाँ के छ त्यस्तो जसले बजारको व्यस्तता र जग्गाको भाउ दुवैलाई बढावा दिइरहेको छ त ? यी सबै प्रश्नको पहिलो उत्तर तराई र पहाडलाई जोड्ने कोसी राजमार्ग हुनसक्छ । पूर्व पश्चिम राजमार्ग र कोसी राजमार्ग दुवैको चौबाटो मात्र नभएर विकास हुादै गरेका फराकिला चौडा सडक, बन्दै गरेका र बनिसकेका सुविधासम्पन्न तारे होटल, सपिङ्ग मलहरु यी सबै इटहरीको बजारलाई बढाउने पूर्वाधारहरु हुन् । इटहरीमा पुरानो डिपार्टमेन्ट स्टोर गोरखा डिपार्टमेन्ट स्टोर छ ।

अहिले सेवा दिन तयार भएर बसेको भाटभटेनी सुपर स्टोर आदि पनि यहाँ रहेका छन् । केही वर्षअघिसम्म गाडा गुड्ने डगर र गोरेटो बाटो मात्र भएको इटहरीलाई विकासशील बनाउन यहाँका व्यवसायी र उत्तरदायी समाजको पनि उत्तिकै हात रहेको छ । त्यो त पछिल्लो २५–३० वर्षमा इटहरीले मारेको चामत्कारिक फड्कोले नै प्रमाणित गरिसकेको छ । 

जग्गाको मुल्य कहाँ कति ?
सरकारले जग्गा खरिदबिक्री गर्दा राजश्व उठाउने प्रयोजनका लागि सबै क्षेत्रका जग्गाको सरकारी मूल्याङ्खन गरेको हुन्छ । यसैगरी, इटहरी उपमहानगरपालिकाले पनि यहाँको जग्गाको प्रस्तावित बिक्री मूल्य सार्वजनिक गरेको छ । इटहरी उपमहानगरभित्र जग्गा किनबेच गर्दा रजिस्ट्रेसन पारित हुने थैली अङ्क काम गर्ने प्रयोजनका लागि इटहरीको जग्गाको न्यूनतम सरकारी मूल्याङ्कन प्रतिकठ्ठा मूल्य ठाउँ हेरिकन २ लाख रुपैयाँदेखि १ करोड ३० लाख रुपैयाँसम्म कायम गरिएको हो । जग्गा किनबेच हुँदा राजश्व लिनका लागि सरकारले जग्गाको न्यूनतम मूल्याङ्कन गर्ने गर्छ । तर सरकारी मूल्याङ्कन र चलनचल्तिको मूल्य निकै फरक हुन्छ । जग्गाको मूल्याङ्खन सार्वजनिक गरिएको भएता पनि त्योभन्दा निकै कम मूल्यमा घर जग्गाहरुको कारोबार हुने गर्छ । तथापि इटहरीको मुख्य ठाउँमा जग्गाको भाउ धुरकै दशौं लाखसम्म पर्न थालेको छ । शहरको चौक तथा सडकले छोएका ठाउँमा त कठ्ठामा जग्गा पाइन छाडेको छ । तर अन्य गल्लीहरुका जग्गाको पनि मूल्य निकै आकाशिएको छ ।

इटहरी वडा नम्बर १ क, ख र ग
पूर्वपश्चिम राजमार्ग र कोसी राजमार्गसँग जोडिएका जग्गाहरुको सरकारी मूल्याङ्कन प्रतिकठ्ठा १ करोड ३० लाख रुपैयाँ तोकिएको छ । इटहरी वडा नम्बर ४ (ख) का मूल सडकसँग जोडिएको जग्गाको सरकारी मूल्याङ्कन प्रतिकठ्ठा एक करोड रुपैयाँ तोकिएको छ । इटहरी वडा नम्बर ८ (ख), ८ (ग) का मूल सडक तथा बसपार्क भित्रका सडकसँग जोडिएका जग्गाहरुको सरकारी मूल्याङ्कन पनि एक करोड रुपैयाँ रहेको छ । त्यसैगरी, इटहरी वडा नम्बर १ (ख) का मूल सडकसँग जोडिएका जग्गाहरुको सरकारी मूल्याङ्कन ९० लाख रुपैयाँ छ । इटहरीबाट इटहरी बसपार्क जाने पिच सडकले छोएका जग्गाको मूल्य ७५ लाख प्रतिकठ्ठा छ भने उक्त बाटोले छोएका तर पिच नभएका जग्गाको मूल्य ४५ लाख प्रतिकठ्ठा तोकिएको छ । इटहरी १ ग एरियामा बाटोले नछोएका जग्गाको मूल्य समेत १४ लाख रुपैयाँ प्रतिकठ्ठा रहेको छ ।

इटहरी वडा नम्बर २
इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा कोसी राजमार्गले छोएका जग्गाको मूल्य एक कठ्ठा बराबर ४५ लाख रुपैयाँ सरकारी मूल्याङ्कनमा छन् भने मूल सडको दायाँबायाँका पिच सडकका जग्गाको मुल्य २६ लाख रुपैयाँ प्रतिकठ्ठाको मूल्याङ्कनमा छन् । यो क्षेत्रमा सडक नपुगेका जग्गाको मूल्य भने एक कठ्ठाको ५ लाख रुपैयाँ बराबर छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २ ख, ग, घ, ङ, च, छ,ज,ञ र ट का पिच सडकका जग्गाको मूल्य एक कठ्ठा बराबर २५ लाख रुपैयाँ छ भने बाटो नपुगेका जग्गाको मूल्य भने ५ लाख रुपैयाँ प्रतिकठ्ठा सम्ममा पाइन्छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ३
इटहरी ३ नम्बरका जग्गाको मूल्य पिच सडक पुगेका ठाउँमा प्रतिकठ्ठा २३ लाख रुपैयाँ देखि बाटै नपुगेका ठाउँको जग्गा ३ लाख रुपैयाँ प्रतिकठ्ठासम्म सरकारी मूल्याङ्कनमा छन् ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ४
वडा नम्बर ४ का मूल सडकसँग जोडिएका जग्गाको सरकारी मूल्याङ्कन एक कठ्ठाको १ करोड रुपैयाँसम्म रहेको छ । वडा नम्बर ४ का सडकले कोसी राजमार्गलाई छोएका जग्गाको मूल्याङ्कन ५० लाख रुपैयाँ प्रतिकठ्ठा छ भने वडा नम्बर ४ मा बाटोलाई नछोएका जग्गाको अन्तिम मुल्य ९ लाख ५० हजार रुपैयाँ प्रतिकठ्ठा सम्म तोकिएको छ ।

खनार एरिया
पछिल्लो समय मात्र इटहरी उपमानगरपालिकामा जोडिएको खनार एरिया इटहरी उपमहानगरकै सस्तो ठाउँको रुपमा छ । तथापि, कोसी राजमार्गलाई छोएका जग्गाको सरकारी मूल्याङ्कन ४० लाख रुपैयाँ प्रतिकठ्ठा छ । खनार एरियामा पिच बाटोलाई छोएका जग्गाको मूल्य प्रतिकठ्ठा २० लाख रुपैयाँ छ भने बाटो नै नभएका जग्गाको मूल्याकन २ लाख रुपैयाँ प्रतिकठ्ठा छ ।