झापाः झापाको भद्रपुरमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड गरिएको छ ।
अढाई दशकअघि स्थापित सालिक आइतबार राति अज्ञात समूहले तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए । सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा सोमबार बिहान भेटिएको जानकारी उनले दिए । भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए । पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक थियो । सालिक तोडफोड घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गरेको छ । समितिले दोषी पत्ता लगाएर कडा कारबाहीका लागि प्रहरीसमक्ष अनुरोध गरेको बरालले बताए ।
झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । तोडफोडमा संलग्नको पहिचान खुल्न बाँकी रहेको र खोजी तीव्र पारिएको उनले बताए । उनका अनुसार यसअघि पनि सालिक तोडफोडको प्रयास भएको जानकारी आएको छ । सालिक भएको स्थान वरपरका बासिन्दासँग सोधपुछ गर्ने काम भइरहेको थापाले बताए । घटनाका विषयमा समितिका पदाधिकारीसँग पनि जानकारी लिने काम भइरहेको उनको भनाइ छ । साहित्यकारहरूले सालिक तोडफोड घटनाको विरोध गरेका छन् । साहित्यकार पुण्यप्रसाद खरेलले तोडफोड निन्दनीय कार्य भएको जनाउँदै राष्ट्रिय विभूतिको सालिकमाथिको आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग गरे । -रासस