इटहरीः प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको आज अनुगमन गरेका छन् । 

मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत बिरामीको अवस्था, आईसीयू, एचडीयू बेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक तथा स्वाथ्यकर्मीसँग जानकारी लिएका थिए । उनले कोरोना संक्रमितको उपचार प्रभावकारी र कुनै गुनासो नआउने गरी गर्न निर्देशन दिए । कोभिड संयोजक साहले अस्पतालमा अहिले बेडको अभाव नभएको मन्त्रीसमक्ष जानकारी गराए । मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्नेगरी व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

उनले भने,‘ टेन्टबाट भन्दा खाली भवन मर्मत गरेर सञ्चालन गर्नुहोस् ।’ प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल आईसीयू, एसडीयू, भेन्टिलेटरसहित गरी ९६ बेडको रहेको छ । कोभिड अस्पतालको सामाजिक विकास मन्त्री साम्सोहाङ, मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई लगायतले अनुगमन गरेका थिए ।

MOSD 1