इटहरी: उमेरले भर्खरै २६ वर्षका भए इटहरी उपमहानगरपालिकास्थित खनारका रुपक घिमिरे । तर सोच र खोजले उनलाई परिपक्व बनाएको छ । हट्टाकट्टा युवा उमेरमै व्यवसायी बनेका रुपकले इटहरीमा नौलो परिकल्पनाको व्यवसाय चलाएका छन् पिज्जाको । पिज्जा बनाउनु, बेच्नु इटहरीको लागि नौलो होइन । झण्डै ३ दर्जनको हाराहारीमा पिज्जा बेच्ने पसलहरु छन् यो शहरमा । तर रुपकको पिज्जामा नौलोपन मिसिएको छ, क्रिस्पी स्वाद समेटिएको छ । त्यो नौलो क्रिस्पी स्वादमा आगोकै प्रयोग गरेर ओभनमा पिज्जा बनाउँछन् रुपक र नौलो स्वाद चखाउँदैछन् अहिले इटहरीलाई । 

रुपकको कथा सुन्दा लाग्छ, उनी झुक्किएर पिज्जा र यो होटलको क्षेत्रमा आएका हुन् । किनकि उनको रोजाइ यो क्षेत्र थिएन । इन्जिनियरिङ्ग पढ्न चाहन्थे उनी । तर प्रवेशिकामा उनको त्यत्रो मार्क थिएन जसले उनलाई इन्जिनियरिङ्गको भार बोक्न सघाओस् । होटल म्यानेजमेन्ट भनेको के हो ? त्यो पनि थाहा थिएन रुपकलाई । इटहरीको एसओएस विद्यालयबाट १२ कक्षाको अध्ययन सकाएपछि साथीभाइ तथा घरसल्लाहले उनलाई होटल म्यानेजमेन्टतिर रुचि बढाएछ । अनि विराटनगरको साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टमा अध्ययन गर्न थालेछन् । होटल म्यानेजमेन्टको पढाइ आर्टस र कमर्सजस्तो हुँदैन । प्राक्टिकल पनि सँगसँगै गर्नुपर्छ । सँगसँगै पकाउनुपर्छ, बनाउनुपर्छ, हाइजिन मेन्टेन गर्नुपर्छ । जति बढी प्राक्टिकलमा अभ्यस्त भयो, उति नै रोजगारका अवसर आउने सम्भावना धेरै हुन्छन् । रुपक पनि त्यसरी नै अभ्यस्त भए आफ्नो पढाइमा । पढाइसँगै रुपकले विराटनगरका धेरै होटलमा काम गर्न भ्याएछन् । विराटनगरका स्वागतम, पान्चाली, रत्ना यी सबै होटलमा काम गर्न भ्याएको रुपक सुनाउँछन् । होटल म्यानेजमेन्टको पढाइमा एउटा राम्रो अवसर हुन्छ इन्टर्नसिपको । रुपकले पनि मलेसियाको जे डव्लु म्यारिवट रिनेसाँ होटलमा इन्टर्नसिप गर्ने अवसर पाएका रहेछन् । तर त्यो अवसर अवसरको रुपमा होइन रहेछ । मलेसिया उडेको १५ दिनमा उनी नेपालमै फर्किनुपर्ने अवस्था आएछ । हो सबैको जिन्दगी कहाँ आफूले सोचेजस्तो हुन्छ र ? रुपकको पनि त्यही भएछ । कानमा समस्या आएपछि नेपाल फर्किएका रुपकलाई फेरी विदेश जान कहिल्यै मन लागेन । भन्छन् “विदेश त सकेसम्म दुस्मन पनि नजाओस् । विदेश गएर बिरामी हँुदा आफूलाई पानी दिने मान्छेसम्म पनि हुँदैन । जे गरिन्छ, देशमै गरौँ । यहाँ जे हुँदा पनि फेमिली सपोर्ट हुन्छ ।” 

120483476_134468008364375_4049673064149417274_n

यसरी नेपाल फर्किएपछि रुपकको कानको अप्रेसन राजधानीकै टिचिङ्ग हस्पिटलमा भएछ । पहिले इन्टर्नसिप असफल भएपछि अर्को इन्टर्नसिपको रुपमा काठमाडौँकै अर्को होटल हायात रिजेन्सी मिलेछ रुपकलाई । पछि इटहरी फर्किएर रुपकले इस्टर्न प्यालेस होटलको प्रि ओपनिङ्गमा काम गरेर होटल खोल्न सफल भएछन् । जागिरे जीवन त त्यही हो, आफूले सोचेजस्तो र खोजेजस्तो हँुदैन । इटहरीमा सन्तुष्ट नभएपछि रुपक फेरी अवसरको खोजी गर्दै काठमाडाँैकै हायात रिजेन्सीमा पुगेछन् । काम त मिलेछ तर क्याजुअलको रुपमा । फिक्स जागिर नभएपछि भौतारिएका यी युवाले राजधानीसँग दुःख लुकाउन पठाओको राइडरसमेत बन्नुपरेको रहेछ । एउटा मध्यम वर्गीय परिवारमा हुर्केको युवालाई परिवारको आवश्यकतासँग जुध्नु त छँदैछ, फेरि आफ्नो भविष्य बनाउने जिम्मेवारी पनि थपिएको थियो । रोजगारीको खडेरी परेको ठाउँमा संघर्ष त गनर्,े तर केमा गर्ने ? यस्तै सोच्दासोच्दै रुपकले फायर वुड पिज्जाको कन्सेप्ट ल्याएका रहेछन् । अनि इटहरीले अहिले फायर वुड पिज्जाको स्वाद लिन पाएको छ । इटहरीको बजारमा नयाँ स्वाद दिन तम्सिएका रुपकलाई ओभन चलाउने दाउरा जुटाउनको लागि भने चुनौति नै रहेछ । तर ती चुनौतिको सामना गरिरहेका छन् रुपक । कहिले जङ्गलबाट त कहिले मिलबाट दाउराको व्यवस्था गरिरहेको बताउने रुपकले आफ्नो पिज्जा अरुभन्दा उत्कृष्ट रहेको बताए । “अरु केही कुरामा कमी हुन सक्छ, तर हामी हाइजिनको हिसाबले उत्कृष्ट पिज्जा बेच्छौँ ।” रुपक भन्छन् ।

सुरुमा एक रुपैयाँको व्यापार नगरिकनै घर फर्केको अनुभव पनि रुपकसँग रहेछ । तर अहिले पकेटबाट खर्च गर्न नपरेको उनले सुनाए । हाम्रै बजारमा पाइने टमाटरको सस प्रयोग गर्छन् रुपक अनि पिज्जाको बेस पनि आफैँ बनाउँछन् । त्यति मात्र नभएर सकेसम्म सबै आफ्नै ठाउँमा उत्पादन हुने टमाटर, लसुन, प्याजको प्रयोगबाट सस बनाएर ग्राहकलाई दिने उनको चाहना पूरा हुँदैछ आजभोलि । पारिवारिक वातावरण बनाइराख्न रुपकले अल्कोहल फ्रि बनाएका रहेछन् पिज्जा हाउसलाई । चुरोट पिउन चाहने ग्राहकहरुको लागि बाहिरउस्तै युनिक डिजाइन बनाइएको रहेछ त्यो पनि फालिएका टायरहरुको सदुपयोग गरेर । पिज्जा हाउस नाम दिइएको उनको पिज्जाको अर्को महत्वपूर्ण पक्ष भनेको फ्रि होम डेलिभरी पनि रहेछ । अनलाइनबाटै अर्डर गरेर इटहरी शहरभरि ३ किलोमिटरसम्म उनले फ्रि मै पिज्जा डेलिभरी गर्ने रहेछन् । कुनै बेला अरुको होटल, रेस्टुरेन्टमा अर्कैको अर्डरमा लुरुलुरु खट्ने रुपकको पिज्जा हाउसमा अहिले ५ जना स्टाफ छन् । अरुलाई रोजगारी दिन पाउँदा खुसी लागेको रुपकले हामीलाई सुनाए । अब निकट भविष्यमै अल्कोहल चाहने ग्राहकहरुलाई मध्यनजर गर्दै छुट्टै बार बनाउने योजना रहेछ यी तन्नेरीको । बारसँगै आफ्नै आइसक्रिमसमेत उत्पादन गर्न लागेका रहेछन् रुपक ।

आइसक्रिमको स्वाद लिने ग्राहकलाई ३ मिनेटभित्र तरल पदार्थलाई फ्रोजन बनाएर सर्भ गर्ने आफ्नो चाहना रहेको रुपक बताउँछन् । सीटीईभीटीमा कुकिङ्गसम्बन्धी प्रशिक्षणसमेत दिइरहेका रुपक कतिपय साथीहरु आफूलाई होटल म्यानेजमेन्ट गरेको भन्ने भएपनि राम्रोसँग चियासमेत पकाउन नजान्ने यथार्थ सुनाउँछन् । रुपकमा अझै पढाइलाई निरन्तरता दिने सोच रहेछ । अब भने अर्कै विषय लिएर स्नातक (ब्याचलर) गर्ने योजना रहेको उनले सुनाए । शिक्षा, व्यापार र व्यस्ततासँगै शेयर बजारमा पनि निकै रुचि राख्दा रहेछन् उनी । केही महिनादेखि दोस्रो बजार बुझेर शेयर खरिदबिक्री थालेका रुपक आईपिओबाट भने परै रहेछन् । कमाइसँगै बचतलाई पनि उत्तिकै महत्व दिने यी युवाको सोचले निरन्तरता पाओस्, हामीले त्यही शुभकामना दियौँ ।