इटहरीः तेह्रथुम पावर कम्पनीको आईपीओमा शेयर माग गर्दै आवेदनको ओइरो लागेको छ ।
कुल ७ लाख ४४ हजार कित्ता शेयर बिक्री खुल्ला गरिएको मा ३ करोड १२ लाख ४६ हजार ९१० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएलएस क्यापिटलका अनुसार अन्तिम दिनसम्ममा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबरको शेयर माग गर्दै आवेदन परेको छ । उक्त संख्या सर्वसाधारणबाट माग गरिएको भन्दा ४२ गुणा बढी हो । तथापि, यो अन्तिम तथ्याङ्क भने होइन । अन्तिम भेरिफिकेसनपछि तथ्याङ्क केही फरक पर्न सक्ने बिक्री प्रबन्धकको भनाइ छ । आवेदनलाई हेर्दा २३ लाख २१ हजार भन्दा धेरै जना आईपीओ पाउनबाट बञ्चित हुने देखिन्छ । मागभन्दा बढी आवेदन परेपछि तेह्रथुमको आईपीओ पाउन भने भाग्यकै भर छ ।
गोलाप्रथाबाट शेयर बाँडफाँट हुने भएकाले भाग्य बलियो हुनेले तेह्रथुम पावरको शेयरधनी हुने मौका पाउनेछन् । ७ लाख ४४ हजार कित्तालाई आधार मान्दा ७४ हजार ४०० हजार आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने देखिएको छ भने २३ लाख २१ हजार ९४८ जना भने आईपीओ पाउनबाट बञ्चित हुनेछन् । कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणका लागि ८ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये ५ प्रतिशत (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २ प्रतिशत (१६ हजार कित्ता) शेयर कर्मचारीलाई सुरक्षित गरेको थियो । बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।
तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसअघि कम्पनीले साउन ५ देखि १९ गतेसम्म आयोजना प्रभावित स्थानीयलाई ४ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ अब सर्वसाधारणलाई पनि आईपीओ बिक्री गरिसकेपछि कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ हुनेछ ।