इटहरीः प्रदेश नम्बर १ कै सुन्दर नगरी इटहरीलाई केन्द्र बनाएर इटहरीको लविपुरमा भाटभटेनीले आफ्नो १९ औँ स्टोर तयार गरेको छ । किनमेलका र मनोरञ्जन दुवै एकै ठाउँमा हुनेगरी परिवारिक वातावरण सहितको सुपर स्टोर यही भदौ १९ गतेदेखि सन्चालनमा आउने भएको हो । आफ्नो सेवा सुरु गर्न लागेको भाटभटेनीले ओपनिङ्गको अवसरमा ग्राहकलाई ग्रोसरी र कन्जुमरका सामानमा १० प्रतिशत छुट दिने भएको छ । बार्गेनिङ्गरहित सुन्दर र सफा किनमेल, चट्ट सजाइएका सामान पाइने सुपरस्टोरमा गरिने सपिङ्गको मज्जा नै फरक हुन्छ । त्यति मात्र नभएर ब्राण्ड अनुसार गुणस्तरीय सामानको लागि पनि ठूला सपिङ्ग सेन्टर धाउने गरिन्छ । इटहरी, इनरुवा, रामधुनी नगरपालिका साथै दक्षिणमा दुहबी र पूर्वमा सुन्दरहरैँचा नगरपालिका र बेलबारीसम्मका बासिन्दालाई भाटभटेनीको इटहरी स्टोर किनमेलको लागि सहज हुने ठम्याइ छ । साढे दुई वर्षअघि बनेको योजना र तिव्र गतिमा भएको निर्माणले पनि कोरोनाको प्रभावलाई चिर्दै अन्ततः भाटभटेनी सेवा दिने सुरुवातमा पुगेको छ ।
तीन अर्बको लगानी
भाटभटेनी सुपर स्टोर इटहरी नगरपालिका वडा नम्बार १६ मा ३५ कठ्ठा क्षेत्रफलमा बनेको छ । यहाँको जमिन र भौतिक संरचना र सामान गरी ३ अर्ब लगानी भएको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराई बताउँछन् । भट्टराईका अनुसार अहिले सामान मिलाउने तथा सजाउने काम अन्तिम चरणमा पुगिसकेको छ । कोभिड सङ्क्रमणका कारण ६ महिना ढिला भएर सन्चालनमा आउन लागेको भाटभटेनी नखुल्दै अहिले दैनिक ४०० को हाराहारीमा संरचना बाहिरबाट हेर्नेहरुको भीड लाग्ने गरेको छ ।
कस्तो छ त संरचना ?
तीन वटा ब्लकसहित ठडिएको पाँच तले संरचना हो भाटभटेनीको यो सुपरस्टोर । तीन वटै ब्लकको कुल क्षेत्रफल ३ लाख वर्गफिट छ । सबै ब्लकमा बेसमेन्ट बाहेक ५तला छन् । अन्डरग्राउण्डमा पार्किङ्गको व्यवस्था गरिएको छ । सामान्यतया ५ सय गाडीलाई सजिलै पार्किङ्ग गर्न सकिने व्यवस्थापक भट्टराईको भनाइ छ । बिल्डिङ्गको भुइँ तलामा ग्रोसरी, फ्रोजन आइटम, श्रृङ्गार प्रशाधन, हरियो तरकारी, अल्कोहलका सामान सजाइएका छन् भने पहिलो तलामा किचनका सामान र बालबालिकाका खेलौना लगायतका सामानको सजावट छ । दोस्रो तलामा लत्ताकपडा, जुत्ता आदि राखिएका छन् भने तेस्रो तलामा इलेक्ट्रोनिक आइटम, ब्यागेज, कार्पेट, गलैँचा लगायतका सामानहरु राखिएको छ । खाजा र नास्ताको लागि सी ब्लक पुरै छुट्याइएको छ । यो ब्लकको भुइँ तलामा केएफसी, पेपे पिजा र आँगन रेस्टुरेन्ट हुनेछ । यही तलामा बालबालिकाको लागि प्ले ग्राउन्ड पनि बनाइएको छ । हिमालयन जाभाको आउटलेट पनि यहाँ रहनेछ ।
त्यसैगरी, लक्ष्मी बैंकको शाखा कार्यालय पनि भाटभटेनीको यो बिल्डिङ्गभित्रै रहने भएको छ । भाटभटेनीले २ महिनादेखि १ सय १० जना स्टाफलाई परिचालन गरेर इटहरी र वरपरका क्षेत्रका १ लाख घरधुरीलाई निम्ता बाडिसकेको व्यवस्थापक भट्टराई बताउँछन् । स्टोरले वराहक्षेत्र, इनरुवा, रामधुनी, दुहबी, सुन्दरहरैँचा, पथरी, केराबारी, लेटाङ लगायतका स्थानमा घरघरै पुगेर यही १९ गतेदेखि इटहरीमा भाटभटेनीमा किनमेल र मनोरञ्जन गर्न आउन निमन्त्रणा गरेको छ । इटहरी र यो क्षेत्रका बासिन्दाले अब बार्गेनिङ्ग गरेर किनमेल गर्न नपर्ने विनोदको जिकीर छ । त्यसो त भाटभटेनीले वासिङ्ग मेसिन, टिभि लगायत विद्युतीय उपकरणको खरिद गर्ने ग्राहकलाई निःशुल्क डेलिभरीसहित घरमै गएर सामान जोडिदिने सुविधासमेत दिने भएको छ । आकर्षक अफर, सामानको खरिदमा छुट सुविधा, निःशुल्क डेलिभरी साथै मेम्बरसिप कार्डजस्ता फरक विशेषता भाटभटेनीले राखेको विनोदले प्रदेश पोर्टललाई बताए ।
मेम्बरसिप कार्ड हरेक खरिदमा लिएर आउने ग्राहकले हरेक पटकको किनमेलमा पोइन्ट पाउने र निश्चित पोइन्ट पुगेपछि त्यसलाई सामान तथा गिफ्टमा साट्न मिल्ने रहेछ । यसबाहेक भाटभटेनीको बीबीएसएम नामक एपबाट पनि पोइन्ट जोडिदिने गरेको रहेछ । यससँगै भाटभटेनीले स्थानीय उत्पादनलाई पनि प्रोत्साहन गर्ने विनोदले बताए । “स्थानीय उत्पादनको गुणस्तर हेरेर हामी त्यसको बजारीकरणमा सहयोग गर्छौँ ” । विनोदले भने । कोरोना महामारीका बीच भीडभाड कम होस् भन्ने हेतुले भदौ १९ गतेदेखि २४ गतेसम्मै उद्घाटनको निम्तो बाँडिएको छ । हुन त सामाजिक दूरी कायम गरेरै पनि थुप्रै ग्राहकलाई एकै पटक सेवा दिन सक्ने क्षमता रहेको यो स्टोर पूर्वी नेपालकै ठूलो सुपरमार्केटमा पर्ने विनोदको जिकीर छ । संरचनाको अगाडिको भागलाई आकर्षक बनाउनको लागि भाटभटेनीले बाटो विस्तार नहुन्जेलसम्मको लागि ब्लक इटा ओच्छयाएर अझै सुन्दर बनाएको छ ।